काठमाण्डौ । चिनियाँ लत्ताकपडादेखि इलेक्ट्रोनिक्स सामानको खपत नेपाली बजारमा राम्रै रहेको छ ।

अन्य देशबाट आउने सामानभन्दा चिनियाँ सामान अलि सस्तो हुने भएर पनि होला नेपाली बजारमा चिनियाँ सामानहरु निकै माग छ । विशेषगरी चिनियाँ सामान निम्न र मध्यम आय भएका परिवारले खरिद गर्ने गरेका छन् ।

हालै चिनियाँ औद्योगिक उत्पादनसम्बनधी दुईवटा सर्भेक्षणले भने विश्वबजारमा चिनियाँ सामानको माग कमी आएको देखाएको छ । यसले गर्दा चिनियाँ औद्योगिक क्षेत्रमा वस्तु उत्पादनमा कमी आएको छ । यसले नेपाली बजारमा पनि असर गर्ने अर्थविद्हरु बताउँछन् ।

अमेरिकासँग व्यापार र प्रविधि विषयमा जारी व्यापार युद्धले चिनियाँ औद्योगिक उत्पादनमा कमी आएको हो । चिनियाँ व्यावसायिक अखबार काइसिनद्वारा विश्लेषणात्मक खरिद सूचकले गत जुलाईको ४९.९ विन्दुबाट ५०.४ विन्दुमा पुगेको देखाएको छ । कूल १०० अंक रहेको यस सूचकले पछिल्लोपटक कारखाना उत्पादनमा सामान्य वृद्धि भएको देखाएको छ, तर वार्षिक विन्दुगत उत्पादनमा कमी आएको देखिएको छ । 

अखबारका अनुसार कारखानबाट उत्पादित वस्तुको मागमा व्यापक कमी आएको छ । शनिबार नै चिनियाँ औद्योगिक समूह “चाइना फेडेरेसन अफ लजिस्टिक एन्ड पर्चेजिङ”द्वारा प्रकाशित अर्को सर्भेक्षणमा बजार माग “सापेक्षित रुपमा कमजोर” रहेको देखाएको छ।

अध्ययनमा जुलाईको ४९.७ अंकको तुलनामा पछिल्लो अगस्टमा ४९.७ विन्दुमा आइपुगेको छ । चिनियाँ निकासीकर्ताहरु अमेरिकी करवृद्धिका अघिल्तिर संघर्षरत देखिएका छन् । जुलाईमा चिनियाँ सामानको अमेरिका निकासीमा ६.५ प्रतिशतले कमी आएको छ ।

चीनको सबैभन्दा ठूलो बजार अमेरिका हो । अमेरिका र चीनले आइतबार मात्र एकअर्का मुलुकका अर्बौं डलर बराबरका सामानमा करवृद्धि गरेका छन् । चीनले निर्माण क्षेत्रमा सरकारी लगानी बढाएर आर्थिक वृद्धिलाई निरन्तरता दिने प्रयत्न थालेको छ ।

चीनमा अघिल्लो वर्षको तुलनामा यस वर्षको जुन महिनासम्म आर्थिक वृद्धि ६.२ प्रतिशत मात्र रहेको छ । विगत २६ वर्षमा चीनको यो सबैभन्दा न्यून आर्थिक वृद्धि हो । - रासस/एपी