काठमाण्डौ । कोरोना भाइरसविरुद्ध चीनमा विकास भइरहेको एउटा भ्याक्सिन नोभेम्बरको सुरुवातदेखि सर्वसाधारणले प्रयोग गर्न पाउने भएका छन् । 

चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन(सीडीसी)का अधिकारीहरुलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार नोभेम्बरको सुरुवातदेखि नै सर्वसाधारणका लागि भ्याक्सिन उपलब्ध हुनेछ । 

चीनमा हाल ४ वटा कोरोनाविरुद्धको भ्याक्सिन क्लिनिकल ट्रायलको फाइनल स्टेजमा पुगेको बताइएको छ । तीमध्ये तीनवटा भ्याक्सिनलाई यसअघि नै अत्यावश्यक कामदारहरुमा आपतकालीन कार्यक्रमअन्तर्गत जुलाईमा नै प्रयोग गरिएको थियो । 

खोपको तेश्रो चरणको परीक्षण मानिने क्लिनिकल ट्रायलको प्रक्रिया निकै राम्रो ढंगले भइरहेको र सर्वसाधारणका लागि यो भ्याक्सिन छिटोमा नोभेम्बरको पहिलो साता र ढिलोमा पनि डिसेम्बरसम्म उपलब्ध हुने सीडीसी प्रमुख गुइजेन वुले बताएकी समाचारमा उल्लेख छ । उनले आफूले समेत यो भ्याक्सिन अप्रीलमा लगाएको र त्यसको नकारात्मक प्रभाव केही पनि महसुस नगरेको बताइन् । 

चाइना नेशनल फर्मास्यूटिकल ग्रुप(सिनोफर्म) र यूएस लिस्टेड सिनोभाक बायोटेकले ३ वटा भ्याक्सिन आपतकालीन कार्यक्रमअन्तर्गत विकास गरिरहेका छन् । चौथो कोभिड १९ भ्याक्सिन चाहिँ क्यानसिनो बायोलोजिक्सले विकास गरिरहेको छ, यो भ्याक्सिन चाइनिज सेनाका लागि अप्रूभ गरिएको थियो । 

सिनोफर्मले जुलाईमै आफूले विकास गरिरहेको भ्याक्सिन यो वर्षको अन्तसम्म सर्वसाधारणका लागि उपलब्ध हुनसक्ने बताइसकेको छ । 

-रोयटर्सबाट