काठमाण्डौ । चीनको उद्योग तथा सूचना मन्त्रालय(एमआइआइटी)ले बिहीबार व्यापारिक उपयोगका लागि फाइभजी लाइसेन्सलाई मञ्जुरी दिंदै त्यहाँको दूरसंचार उद्योगमा नयाँ युगको सुरुवात गरेको छ । 

पहिलो चरणमा फाइभजीको लाइसेन्स पाउने कम्पनीहरुमा चाइना टेलिकम, चाइना मोवाइल, चाइना युनिकम तथा चाइना ब्रोडकास्टिङ नेटवर्क रहेका छन् । 

लाइसेन्स वितरण समारोहमा त्यहाँका संचारमन्त्री मियाओ वेईले भनेका छन् कि फाइभजीको लाइसेन्स जारी भएसँगै अब देशमा हाइस्पीड मोवाइल, सुरक्षित र अझ व्यापक नयाँ पिढीको सूचना संरचना स्थापित हुनेछ। 

मियाओले चीनमा फाइभजीको सुरुवातसँगै नयाँ अवसरहरुको सिर्जना हुने र चीनको डिजिटल अर्थव्यवस्थामा निकै ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । 

उनका अनुसार यो प्रविधिको सुरुवातसँगै कैयन उद्योगहरुको डिजिटल रुपान्तरण हुनेछ । यस्तै, इण्डस्ट्रियल इन्टरनेट तथा इन्टरनेट अफ भेइकल जस्ता क्षेत्रमा समेत यसको अझ बढी उपयोगिता बढ्नेछ । 

चिनिया संचारमन्त्रालयको एक रिपोर्टका अनुसार फाइभजीको सुरुवातसँगै सन् २०२० देखि २०२५ को बीचमा १० हजार ६०० अर्ब यूआन बराबरको आर्थिक उत्पादन तथा ३० लाख रोजगारी सिर्जनाको अपेक्षा गरिएको छ ।