काठमाण्डौ । नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नतिको काम भइरहेको छ । एउटामात्र अन्तर्राष्ट्रिय विमानस्थल सानो हुँदा प्रायः आकाशमै विमानको ट्राफिक जाम हुने गरेको छ । कतिपय अवस्थामा घन्टौँसम्म विमानहरु आकाशमै होल्ड हुने गरेका छन् ।

पोखरा र भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनिरहेका छन् । निजगढमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्ने सुसार हुँदैछ । तर यसका लागि थुप्रै समय लाग्ने पक्का छ ।

छिमेकी मुलुक चीनमा भने एउटा यस्तो अन्तार्रष्ट्रिय विमानस्थल बनेको जसको आकार ९८ वटा फुटबल मैदानको जत्रो छ । चीनको ७० औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा बेइजिङमा ११ अर्ब डलर खर्च गरेर बनाइएको विशाल विमानस्थल सञ्चालनमा यसैत साताबाट सञ्चालनमा आएको छ ।

बीबीसीका अनुसार चीनका राष्ट्रपति सी जिन्पिङले बेइजिङस्थित डाशिङ अन्तर्राष्ट्रिय विमानस्थलको बुधवार औपचारिक उद्घाटन गरे। उक्त विमानस्थल झन्डै सात लाख वर्गमिटर क्षेत्रमा फैलिएको चाइना डेलीले जनाएको छ। अर्थात् विमानस्थल ९८ वटा फुटबल मैदानजत्रो ठूलो छ।

एअरपोर्ट काउन्सिलका अनुसार बेइजिङको पुरानो विमानस्थल विश्वकै दोस्रो अतिव्यस्त विमानस्थल हो। एट्लान्टा विमानस्थल व्यस्त विमानस्थलहरूको सूचीमा शीर्ष स्थानमा छ। तर बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा यात्री र विमानहरूको चाप बढेकाले नयाँ विमानस्थलको आवश्यकता भएको सरकारी अधिकारीहरू बताउँछन्।

डाशिङ विमानस्थलमा एउटै भवनमा संसारकै सबैभन्दा ठूलो टर्मिनल भएको बताइन्छ।

सन् २०२५ सम्म बेइजिङ आउने अनुमान गरिएका १७ करोड मानिसमध्ये उक्त विमानस्थल हुँदै धेरैजना आउने अपेक्षा गरिएको छ। नयाँ विमानस्थलबाट बुधवारदेखि सातवटा आन्तरिक विमानसेवाले उडान सुरु गर्ने ग्लोबल टाइम्सले जनाएको छ।

ब्रिटिश एअरवेज, क्याथे प्यासिफिक, फिनएअर र अन्य अन्तर्राष्ट्रिय विमानसेवाले पनि डाशिङमा आफ्नो विमान चलाउने घोषणा गरिसकेका छन्। यो नयाँ विमानस्थलको नमुना प्रसिद्ध वास्तुकार जाहा हादिदले बनाएका हुन्।

बीबीसीका अनुसार यो विमानस्थल सञ्चालनमा आएपछि बेइजिङमा पनि न्यूयोर्क र लन्डनमा जस्तै दुईवटा ठूला अन्तर्राष्ट्रिय विमानस्थल भएका छन्। सन् १९५८ मा खुलेको बेइजिङ क्यापिटल विमानस्थल अहिलेसम्म १० करोडभन्दा बढी मानिसले प्रयोग गरिसकेका छन्।