काठमाण्डौ । सरकारले नेपालको हुम्ला जिल्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमि मिचेर भवन निर्माण गरेको विषय गलत रहेको दाबी गरेको छ । 

सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले असोज १ र ६ गतेको मन्त्रीपरिषदको बैठकका निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा यस्तो दाबी गरेका हुन् । 

उनले नेपाली भूमि मिचेर भवन निर्माण गरिएको भन्ने क्षेत्रतर्फ जिल्ला प्रशासन हुम्लाबाट अध्ययन गर्न टोली पठाइएको र थप तथ्य केही दिनपछि आउने बताए । तर, सरकारको अनुसन्धानमा भने यो पुरानै विषय भएको र ०७३ सालमा पनि केही मिडियामा यो विषय आएको उनलें दाबी गरे । 

'२०७३ सालमा पनि यस्तै समाचार सम्प्रेषण भएको छ । त्यसबेला अन्तरमन्त्रालय छानबिन समिति गठन गरेर, गृह परराष्ट्र, नापी विभागका अधिकारीसहितको टिमले स्थलगत अध्ययन गरेको थियो ।  त्यतिबेला बनेका घरहरु चाहिँ नेपाल–चीन सीमाभन्दा १ किलोमिटरभित्र चिनियाँ भूभागमै निर्माण गरिएको प्रतिवेदन आएको रहेछ ।' उनले भने-'अहिले पनि त्यही क्षेत्रमै भवन निर्माण गरिएको भन्ने कुरा आएको छ ।'