चीनले सुँगुरको संख्या बढाउने उद्देश्यले ब्रिटेनबाट ठूलो मात्रामा सुँगुरको शुक्राणु खरिद गर्न लागेको छ।

त्यसका लागि चीनले ब्रिटेनसँग दुई लाख पाउण्ड बराबरको सम्झौता गरेको छ।

ब्रिटेन युरोपेली संघ (इयु) बाट अलग हुने प्रक्रिया थालेपछि पछिल्लो सम्झौता भएको हो।

उत्तरी आयरल्याण्डबाट सुँगुरको शुक्राणु पाँच हजार माइलको उडानपछि चीन पुग्नेछ।

स्पीयरहेड चीन लिमिटेडका अध्यक्ष विलियम आर्थर स्पीयर्सले भने, "ब्रिटेनका लागि ब्रेक्जिट राम्रो कुरा भयो। चीनको लागि पनि त्यो राम्रो अवसर हो। चीनमा सुँगुरका लागि ठूलो बजार हो।"

"दुर्भाग्यवश चिनियाँहरू छिट्टै पैसा कमाउन चाहन्छन् जबकि ब्रिटिश किसानहरू गुणस्तर र धेरैधन्दा धेरै सुँगुरको बच्चा उत्पादन गर्नमा ध्यान केन्द्रित गरिरहेका छन्।"

व्यावसायिक रूपमा ठूलो संख्यामा सुँगुर उत्पादन गर्दै आएको ब्रिटेनसँग इतिहास छ।

उनीहरूका लागि उच्च प्रजनन विधिको विकास गर्न सजिलो छ।

सुँगुरको शुक्राणुलाई तरल नाइट्रोजन क्यानमा जमाएर राखिन्छ।

एउटा चिनियाँ सुँगुर उत्पादन कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने, "उत्तरी आयरल्याण्डको सुँगुरको प्रजाति निकै राम्रो हुन्छ। त्यसकारण हामीलाई त्यसबाट बढी नाफा हुन्छ। अन्य सुँगुरको तुलनामा त्यो प्रजातिको सुँगुरलाई १० प्रतिशतले कम खानेकुरा चाहिन्छ।"

सरकारी नियमहरूका कारण चिनियाँ बजारमा प्रवेश पाउन गाह्रो छ।

तर ब्रेक्जिटका कारण कतिपय कम्पनीहरूले नयाँ अवसर पाउने आशा गरिएको छ।
ब्रिटिश प्रधानमन्त्री टरिजा मेले बुधवारदेखि चीनको भ्रमणमा छिन्।

आफ्नो भ्रमणका क्रममा उनले ब्रेक्जिटपछि चीनसँगको व्यापारिक सम्बन्ध बढाउनुपर्नेमा जोड दिने अपेक्षा गरिएको छ।

बीबीसीबाट साभार