काठमाण्डौ । मेगा बैंक लिमीटेडले चीनबाट रणनीति साझेदार भित्र्याउने योजना सार्वजनिक गरेको छ । यस्तै, श्रीलंकाबाट समेत साझेदार भित्र्याउने संभावनाको बिषयमा समेत अध्ययन थालेको बताइएको छ । 

मेगाको आठौं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष भोजबहादुर शाहले चीनबाट रणनीतिक साझेदार भित्र्याउने बिषयमा पहल थालिएको र त्यसको नतिजा निकट भविष्यमै आउने बताए । 

उनले चीनसँगै श्रीलंकाबाट समेत रणनीतिक साझेदार भित्र्याउने बिषयमा पहल थालिएको संकेत गरे । भने-'हामी अहिले रणनीतिक साझेदारको खोजीमा छौ । श्रीलंकाका लागि नेपाली राजदूत प्रा.डा. विश्वम्भर प्याकुरेलसँग यस बिषयमा कुरा गरेका थियौं । उनले श्रीलंकाबाट समेत रणनीतिक साझेदार भित्र्याउन संभव छ भन्नुभएको छ । हामीले त्यसलाई समेत प्राथमिकतामा राखेका छौ ।' 

अध्यक्ष शाहले मेगामा लगानी गरेकाहरुले आर्थिक ०६९/७० देखि ०७३/७४ सम्ममा लगानीको ५६.८६ प्रतिशत लाभांश पाइसकेका जानकारी समेत दिए । 

मेगा विभिन्न सहायक कम्पनी स्थापनाका लागि अगाडि बढेको उल्लेख गर्दै उनले निकट भविष्यमै २० करोड चुक्तापूँजी भएको मेगा सेयर क्यापिटल बित्तीय बजार ल्याइने जानकारी दिए । यो सहायक कम्पनी स्थापनाको अन्तिम तयारी चलिरहेको उनको भनाई थियो । 

यस्तै, मेगा बैंकले हालै जनरल लाइफ इन्स्योरेन्समा लगानी गरिसकेको र निकट भविष्यमै नन्लाइफ इन्स्योरेन्समा पनि लगानी गर्ने बताए । 

मौद्रिक नीतिले दिएको अवसरको सदुपयोग गर्दै मेगाले कार्ययोजना बनाएर ब्रोकर लाइसेन्स लिने प्रक्रिया पनि चाँडै सुरु गर्ने उनको भनाई थियो । 

उनले मेगा बैंक स्थापना हुँदा फाइभ स्टार मेगा सर्भिस दिने वचनबद्धता रहेको स्मरण गर्दै त्यसलाई पुनरजागरण गरी प्रत्येक शाखाबाट मुस्कानसहितको गुणस्तरीय सेवा दिने प्रतिबद्धता समेत व्यक्त गरे । उनले कर्मचारीको दक्षता अभिवृद्धिका लागि आफ्नै टेनिंग स्कूल स्थापनाको योजना समेत सुनाए । 

उनले सामाजिक उत्तरदायीत्वअन्तर्गत खर्च हुने रकमलाई व्यवस्थित गर्न निकट भविष्यमा मेगा च्यारिटी वा फाउण्डेसनको नाममा अलग्गै संस्था दर्ता गरिने जानकारी समेत दिए । 

अध्यक्ष शाहले चुक्तापुँजीका रुपमा देशकै दोस्रो ठूलो बैंकको रुपमा स्थापित हुन सक्नु मेगा बैंकको सफलता भएको बताए । चुक्ता पुँजी, व्यावसायको आकार, कर्मचारी संख्या र नेटवर्कका हिसाबले पनि मेगा बैंक देशकै अग्रणी बैंक बन्न सफल भएकाले चालु आर्थिक बर्ष २०७५/७६ देखि मेगा बैंकको मुनाफामा निकै बृद्धि हुने उनको भनाई थियो ।

अध्यक्ष शाहले आगामी चार बर्षभित्र बैंकको आफ्नै कर्पोरेट भवन बनाउने उद्घोष गरे । यसैगरी, संघीय संचरना अनुसार हरेक प्रदेशमा ‘प्रदेश हेडक्वार्टर’ स्थापना गरी मेगा बैंकको सञ्जाललाई व्यापक बनाइने बताए । ‘हामी छोटो समयमै नेपालको एउटा ठूलो बैंक बन्न सफल भएका छौँ, अब संघीयताको कार्यान्वयनसँगै नयाँ–नयाँ आर्थिक सम्भावना र चुनौतीहरु पनि हाम्रो माझमा देखिएका छन् ।,’ उहाँले भन्नुभयो, ‘विज्ञहरुसँगको परामर्शमा हामीले पाँच बर्षीय रणनीतिक योजना बनाएर कार्यान्वयनमा ल्याइसकेका छौँ ।  आर्थिक सम्भावनाका नयाँ क्षेत्रहरु पहिल्याउँदै कृषि, पर्यटन र जलविद्युतको क्षेत्रमा बैंकको मुख्य व्यवसायलाई केन्द्रीत गर्छौँ ।’

मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले छोटो समयमै मेगा बैंक नेपालको बैंकिङ क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताइन् ।

‘हामीले बितेको आठ बर्षमा मेगा बैंकलाई एउटा सफल वित्तीय संस्थाका रुपमा स्थापित गर्यौं ।’ टुरिजमसँगको मर्जरपछि झन् मेगा बैंक चुक्ता पुँजीका आधारमा नेपालकै दोस्रो ठूलो बैंक बन्न सफल भएको छ । ग्राहकहरुको विश्वास जित्दै हामी निरन्तर अघि बढिरहन्छौँ ।’ खुञ्जेलीले भनिन्, ‘ग्राहकहरुको चाहना अनुसार लोकप्रिय र नवीनतम सुविधाहरु सधैं हाम्रो प्राथमिकतामा छन् । अनलाइन ट्रेड सर्भिस, फास्ट ट्रयाक ग्यारेन्टी इसुऐन्स, अनलाइन खाता खोल्ने जस्ता सेवालाई ग्राहकले अत्याधुनिक मन पराइदिनुभएको छ । शेयरधनी र ग्राहकवर्गलाई हामीले हरेक महिना ‘मेगा मन्त्र’ नामक न्यूजलेटर पठाएर हाम्रा सेवाबारे अवगत पनि गराउँदै आएका छौं । आगामी दिनमा झनै आकर्षक सुविधाहरु ल्याउने हाम्रो तयारी छ ।’ 

बार्षिकोत्सवको अवसरमा सिइओ खुञ्जेलीले तीन वटा आकर्षक कर्जा योजनाहरु पनि सार्वजनिक गरिन् । साना तथा मझौला व्यावसायको प्रबद्र्धनका लागि ‘मेगा साना तथा मझौला कर्जा’, आवास तथा गाडी लिन चाहने मध्यमवर्गीय नेपालीका लागि ‘मेगा घर तथा गाडी कर्जा’ र विभिन्न पेशा व्यावसायमा संलग्नहरुलाई बिनाधितो ऋण प्रदान गर्ने गरी ‘मेगा प्रोफेशनल लोन’ योजना सार्वजनिक भएको हो । यी तीन वटै कर्जा योजनाहरु ग्राहकले मेगा बैंकको जुनसुकै शाखाबाट प्रक्रिया सुरु गरेको २४ घण्टाभित्रै निर्णय गरिने र ७ दिनभित्र कर्जा प्रवाह गरिने खुञ्जेलीको भनाई थियो ।

बैंकले गत आर्थिक बर्षमा निक्षेप संकलन ११ अर्ब ८२ करोड बढेर ६३ अर्ब पुगेको छ । यसैगरी, कर्जा प्रवाह पनि करिब ११ अर्ब बढेर ५७ अर्ब २६ करोड पुगेको हो । ग्राहक संख्या ५ लाख रहेको छ । कर्जाको औसत आकार २९ लाख ५५ हजार र निक्षेपको १ लाख २२ हजार रहेको छ । 

स्थापनाको नवौं बर्षमा आइपुग्दा मेगाको १०१ वटा शाखा विस्तार गरेको छ । यसैगरी, देशभर १४ वटा एक्सटेन्शन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ सेवा, २ हजार भन्दा बढी मेगा रेमीट सञ्जाल र ७४ वटा एटीएम छन् । 

यसैबीच, वार्षिकोत्सवका अवसरमा मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत काठमाडौको महाराजगञ्जमा संचालित पौरखी नेपाल र उपल्लो डोल्पाका गरिब तथा जेहेन्दार विद्यार्थी छिरिङ तावा बुढालाई उच्च शिक्षा अध्ययनका लागि १–१ लाख रुपैयाँ सहयोग गरेको छ ।