काठमाण्डौ । निरन्तर घटिरहेको बजारका लगानीकर्तामा एउटै आशा थियो–‘सरकारले स्थानीय निर्वाचनको घोषणा गर्यो र तरलता अभावको समस्या केही सहज भयो भने बजार ‘बाउन्स ब्याक’ हुन्छ ।’ घटेर १२ सयको हाराहारीमा पुुगेको बजारमा धेरैले यही आशामा राम्रा कम्पनीका सेयर सस्तो मूल्यमा उठाए । अवस्था केही सहजजस्तो त भयो, तर आम अपेक्षाविपरीत बजार बढ्नुुको साटो एकदुुई दिन बढेर पुनः ओरालो लाग्न सुरु भयो । 

लगानीकर्ताको अपेक्षा विपरीत बजारले उल्टो गति किन समातेको होला ? स्टक ब्रोकर एशोसिएसनका पूर्व अध्यक्ष अञ्जनराज पौड्याल भन्छन्–‘नियमित कारोबारी कारण यस्तो अवस्था भएको हो ।’ कसरी ? उनले बिजशालाको जिज्ञासा मेट्दै थपे–‘चुनावको घोषणा र तरलतामा केही सहज अवस्था भएपछि बजार बढ्छ भनेर सर्ट टर्म कारोबारीहरुले सस्तोमा सेयर उठाएका थिए । बजारको टुंगो नभएका कारण एक दुुई दिन बढेपछि नै उनीहरु बिक्री गर्न हतारिए, यसले चुनाव घोषणा भएपछि पनि बजारमा बिक्रीको चाप देखियो र बजारले उल्टो गति समात्यो ।’ 

उनको भनाईमा सेयर बजारमा अहिले छोटो अवधिमा लगानी गरी कमाउनेहरुको संख्या निकै ठूलो छ । उनीहरुले बजारको टुंगो नभएको भन्दै १२ सयको हाराहारीमा झरेको बजारमा उठाएको सेयरमा भएको फाइदा बुक गर्न हतारिँदा बजारमा बिक्रीको चाप बढेको र यसले परिसूचकमा गिरावट ल्याइदिएको उनको दाबी छ । 

‘चुनाव घोषणा भएपछि यसको नाममा बजेट निकासा हुने क्रम केही पछि मात्र सुरु हुने र तरलताको समस्यामा सुधार आउन समेत केही समय लाग्ने बुुझेका उनीहरुले थोरै भए पनि नाफा बुक गर्न हतारिँदा यसको प्रभाव बजारमा परेको देखियो ।’ उनले भने–‘बिमा कम्पनीको चुक्तापूँजीको बिषयमा रहेको अन्यौल प्रष्ट नहुँदा समेत बजार घट्न बल पुुग्यो ।’ नेपालको सेयर बजार बैंक र बिमा केन्द्रीत छ ।  

पौड्यालको भनाईमा नियमित कारोबारीको नाफा कमाउने हतारो मात्र नभई बजार बढेर निरन्तर घट्नुुमा लगानीकर्ताको गिर्दो मनोबलले समेत काम गरेको छ । ‘धितोपत्र बोर्डले नेपाल लाइफ र फरवार्डको एफपीओ आइपीओको बाँडफाँड फागुन १३ गतेभित्र सक्ने निर्देशन दिएपछि त्यसपछिको समयमा त्यहाँ फ्रिज भएको पैसा आउला र लगानी बढ्ला भन्ने आशाले समेत बजारमा केही सकारात्मक प्रभाव पारेको थियो ।’ उनले भने–‘तर त्यो मिति समेत पछि सारिएपछि हिजो र आजको बजारमा त्यसको प्रभाव समेत देखियो ।’ 

पौड्यालका अनुसार केही बढेर निरन्तर घटिरहेको बजार त्यसअघिको जस्तो कयौं दिनसम्म घटिरहने पो हो कि भन्ने लगानीकर्ताको डर र कमजोर मनोबलका कारण समेत बजारमा बिक्री चाप बढेको हो । 

बजार अब के होला त ? पौड्यालको अनुमानमा तत्काल बजार बढिहाल्ने अवस्था छैन । ‘तर अहिलेको अवस्थामा बजार स्थिर हुनुु नै ठूलो कुरा हो ।’ उनले थपे–‘चुनावी गतिविधि बढेपछि र सोसँगै तरलताको समस्या समेत केही सहज भएपछि बजारमा केही सुधार हुन्छ, बाउन्स ब्याक नै चाहि नहोला ।’