काठमाण्डौ । अन्ततः स्थानीय निकायको दोश्रो चरणको निर्वाचन सर्ने नै भएको छ । 

आइतबार साँझ बालुवाटारमा बसेको शीर्ष दलका नेताहरुको बैठकले राष्ट्रिय जनता पार्टी(राजपा)लाई सहभागी गराउन भन्दै चुनावको मिति एकसातादेखि १० दिनसम्म सार्ने अनौपचारिक सहमति गरेको हो । 

दोश्रो चरणको स्थानीय निर्वाचन जेठ ३१ गते गर्ने तयारी भइरहँदा दलहरुको बैठकले यसैलाई सारेर असार ७ देखि १० गतेभित्र गर्ने सहमति गरेको हो ।

बालुवाटार स्रोतका अनुसार बैठकमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र राजपाका नेता सहभागी थिए । बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा केपी, राजपाका संयोजक महन्थ ठाकुर, नेताहरु राजेन्द्र महतो, शरदसिंह भण्डारी लगायत सहभागी थिए । 

बैठकमा सहभागी एक नेताका अनुसार राजपाले पनि केही सकारात्मक संकेत दिएपछि चुनाव ७ देखि १० दिनसम्म पर सार्न दलहरुबीच सहमति बनेको छ । तथापि, राजपाले संविधान संसोधन र स्थानीय तहको संख्या नथपी चुनाव नजाने पुरानो अडानलाई आइतबारको बैठकमा समेत यथावत राखेको छ । निर्वाचनको मिति सार्दा समेत राजपा नआए के गर्ने भन्ने बिषयमा दलका नेताहरु नै द्विविधामा छन् ।