काठमाण्डौ । सोमबार बजार परिसूचक झिनो अंकले घटे पनि कारोबार रकम भने बढेको छ। यसले बजारमा खरीदकर्ताहरुको चाप बढिरहेको देखाउँछ । यसअघि चुनाव हुने या नहुने अन्यौल, बजारमा फैलाइएका अनावश्यक हौवा लगायतका कारण बजार निरन्तर घटिरहेको थियो । यही समयमा ‘पर्ख र हेर’को रणनीतिमा बसेकाहरु समेत चुनावपछि बजारमा उछाल आउने भन्दै सेयर खरिदारीमा सक्रिय हुन थालेका छन् । यसैको संकेतको रुपमा सोमबार बढेको कारोबार रकमलाई लिन सकिन्छ । 

पहिलो चरणको निर्वाचन भएकै दिन सेयर बजारमा दोहोरो अंकको उछाल आउनुुले समेत लगानीकर्ता चुनावपछिको अवस्थाको बिषयमा धेरै नै आशावादी भएका देखिन्छ । 

चुनावपछि बजार वृद्धि हुने आशा बलियो बन्दै गएका कारण सोमबारको बजारमा ६७ करोडको हाराहारीमा सेयर किनबेच भयो । यसअघिका कतिपय दिनहरुमा कतिपय कम्पनीको संस्थापक सेयरको उच्च कारोबारका कारण समग्र कारोबार रकम उचाईमा पुुगेको देखिने गरे पनि सोमबारको कारोबार स्वभाविक देखिन्छ । सबैभन्दा बढी चिलिमे हाइड्रोपावर कम्पनी, स्ट्याण्डर्ड चार्टर्ड बैंक, बुटवल पावर कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स र नेपाल बैंकले गरेका देखिन्छ । यी ५ कम्पनीले मात्र २१ करोड बढीको कारोबार गरेका छन् ।

यसरी हेर्दा अधिकांश राम्रा कम्पनीको कारोबार बढेको छ भने यस्ता कम्पनीहरु छानी–छानी लगानीकर्ताले सेयर खरिदारी बढाएका छन् । 

सोमबार ६ उपसमूहको सूचकमा रातो पोतिएर ३ उपसमूह उकालो लागे पनि समग्र कारोबार प्रवृति सन्तोषजनक र आशोन्मुख नै छ । सोमबारको कारोबारले आगामी दिनमा बजार अझै बढ्नसक्ने स्पष्ट संकेत गरेको विश्लेषकहरु बताउँछन् । सूचक स्थिर अवस्थामा रहनुु र कारोबार रकमले फड्को मार्दै जानुुले बजार बलियो बन्दै गएको विश्लेषण गर्न सकिने कतिपयको तर्क छ । 

चुुनावपछि के होला ?
विश्लेषकहरुले देशको अर्थतन्त्रका सबै सूचक सकारात्मक रहेका र सेयर बजारमा प्रभाव पार्ने सूचकहरु समेत ठीक अवस्थामा रहेका भन्दै चुनावपछि बजारमा उछाल आउने दाबी गर्दै आएका छन् । 

बिजशालासँग कुरा गर्दै बैंकर तथा विश्लेषक अनलराज भट्टराईले अहिले बजार घट्नुपर्ने कुनै कारण नभएको दाबी गर्दै चुनावपछि सेयर बजारको स्वर्णिम युुग सुरु हुने बताए । ‘चुनावपछि बजार धेरै माथि पुुग्छ ।’ बिजशालासँगको कुराकानीमा उनले भनेका छन्–‘चुनावपछि देश आर्थिक समृद्धिको युुगमा प्रवेश गर्छ, राजनीतिक अजेण्डा सकिई विकासको युुग सुरु हुन्छ । यस्तो बेलामा आर्थिक गतिविधिले थप तीव्रता पाउँछ, जसको सकारात्मक प्रभाव सेयर बजारमा समेत पर्छ ।’ 

उनले अहिलेको समय सेयर खरीद गर्ने उचित समय भएको उल्लेख गर्दै यस्तो बेलामा नियोजित रुपमा फैलाइएको हल्लाको पछि नलागी कम्पनीको राम्रो विश्लेषण गरेर लगानीको निर्णय लिन आग्रह गरेका छन् । ‘अहिले सेयर खरीद गर्नेहरुको भविष्य उज्वल देख्छुु म ।’ उनले थपे–‘चुनावपछि सेयर बजार १८८१ भन्दा धेरै माथि पुुग्छ ।’ 

बैंकर तथा विश्लेषक कृष्णराज लामिछाने समेत भट्टराईको तर्कमा सहमत छन् । उनले समेत हाल सेयर बजार घट्नुपर्ने कुनै कारण नभएको उल्लेख गर्दै चुनावपछि बजार स्वभाविक रुपमा बढ्ने र धेरै माथि पुुग्ने दाबी गरेका छन् । उनले समेत सेयर बजारमा साना लगानीकर्ताले कम्पनी विशेषको राम्रो अध्ययन गरी खरीदको निर्णय लिनुपर्ने सुुझाव दिन्छन् । ‘चुनावपछि आर्थिक समृद्धिको युुग सुरु हुन्छ, सबै दलको ध्यान विकास र समृद्धितर्फ नै केन्द्रीत हुन्छ ।’ उनले भने–‘जोसुकैको सरकार आए पनि त्यो स्थिर हुन्छ र यसले आर्थिक क्षेत्रमा समेत सुधार गर्नेछ ।’ 

उनले गत महिना देश शोधानान्तर बचतमा रहेको उल्लेख गर्दै यस्ता सूचकले समेत अबको नेपाली अर्थतन्त्र सुधारोन्मुख रहेको देखाएको र अधिकांश सूचिकृत कम्पनीको पहिलो त्रैमासको प्रदर्शन नराम्रो नरहेको उल्लेख गर्दै  अब बजार बढ्ने बताए ।