काठमाण्डौ । आफ्ना माग पूरा नहुने सत्ता पक्षले प्रष्ट पारेपछि भड्किएको राष्ट्रिय जनता पार्टी(राजपा)ले असार १४ गतेको दोश्रो चरणको स्थानीय निर्वाचन भाँड्ने योजनाका साथ आन्दोलनको घोषणा गरेको छ । 

उसले मसाल जुलुसदेखि चुनाव भन्दा ४ दिनअघिबाट तराई मधेशमा आमहड्ताल लगायतका कडा कार्यक्रम सार्वजनिक गरेको हो । उसले सरकारले आफूहरुलाई पटक पटक धोका दिएको भन्दै चुनाव हुनै नदिने अडान समेत व्यक्त गरेको छ । 

राजपाले जेठ २९ गते प्रत्येक जिल्लाका सदरमुकामहरुमा मसाल जुलुस प्रदर्शन गर्ने, जेठ ३०, ३१, असार १ र २ गते मधेश, थरुहट र लिम्बूवान क्षेत्रमा आमहड्ताल गर्ने, ३० र ३१ गते प्रत्येक गाउँपालिका र नगरपालिकामा केन्द्रीत भई निर्वाचनविरुद्ध प्रचारप्रसारलाई तीव्र पार्ने, माइकिंग गर्ने, असार १ गते प्रत्येक चौकमा विरोधसभा गर्ने र असार २ गते गाउँपालिका, नगरपालिका र उपमहानगर तथा महानगरपालिका कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम अगाडि सारेको छ । असार १४ गतेको निर्वाचन कार्यतालिका अनुसार असार २ गते मनोनयन गर्दा गर्ने दिन हो । मनोनयन दर्ता गर्ने दिनलाई लक्षित गरी आमहड्तालको साथमा उसले तालाबन्दी पनि गर्ने बताएको हो । 

राजपाले असार ५ गते सबै जिल्ला सदरमुकाममा लाठी जुलुस प्रदर्शन गर्ने, असार ६ देखि १४ गतेसम्म निर्वाचन सम्बन्धी सबै कार्यक्रम र गतिविधिलाई अवरुद्ध गर्ने र असार १० गतेदेखि अनिश्चितकालीन आमहड्ताल गर्ने घोषणा गरेको छ । 

राजपाले संविधान संशोधन गरिनुपर्ने, स्थानीय तहको संख्या बढाइनुपर्ने, मधेस आन्दोलनमा घाइते भएकालाई निशुल्क उपचार गरिनुपर्ने, मृतकलाई सहीद घोषणा गरिनुपर्ने, बन्दीको रिहाई र झुटा मुद्दा फिर्ता लिइनुपर्ने लगायतका माग पूरा हुनुपर्ने अडान लिइरहेको छ । सरकारले माग क्रमशः पूरा हुने भन्दै त्यसको भरपर्दो प्रतिबद्धता जनाइने र सबै माग असार १४ अगाडि नै पूरा हुन नसक्ने प्रष्ट पारिरहेको छ । 

सरकारले पटक पटक प्रयास गर्दा समेत राजपासँग कुरा मिल्न सकेको छैन । राजपा चुनाव भाँड्ने योजनामा रहे पनि तराई मधेशकै ठूला शक्ति उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, विजयकुमार गच्छदारको फोरम लोकतान्त्रिकले भने चुनावमा जाने तयारी थालिसकेका छन् ।