काठमाण्डौ । सतप्रतिशत नशा ब्लकलाई खुलाउन एन्जियोप्लाष्टी गरिएको करिब तीन वर्षपछि पूर्वराजा ज्ञानेन्द्रलाई पुनः नशा ब्लकेजको समस्या(हृदयघातको पूर्व संकेत) देखिएको छ । 

सन् २०१४ सेप्टेम्बरमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई नशा पूरै ब्लक भई हृदयघात भएको थियो, तर चिकित्सकहरुले समयमै उपचार गरेका कारण उनी ठीक भएका थिए । त्यसको करिब ३ वर्षपछि पूर्वराजा शाहको बुुधबार दोश्रोपटक एन्जियोप्लाष्टी गरिएको छ । 

सन् २०१४ मा हृदयघातको समस्या देखिएपछि उनका निजी चिकित्सक डा. किशोरजंग राणा र नर्भिक इन्टरनेशनल हस्पिटलका चिकित्सकहरुले चुरोट पिउने बानी त्याग्न सल्लाह दिएका थिए । निजी चिकित्सक डा. राणाका अनुसार त्यसपछि पूर्वराजाले चुरोट पिउन छाडेका थिए । चुरोट पिउन छाड्दा समेत नयाँ नशामा रक्तप्रणाली ब्लक हुने समस्या देखिएको भन्दै चिकित्सकहरु चिन्तित बनेका छन् । 

‘पहिलाको नशामा सतप्रतिशत ब्लकेज थियो, तर अहिले ८० प्रतिशतसम्म ब्लकेज देखियो ।’ पूर्वराजाको स्वास्थ्य स्थितिको बिषयमा नर्भिक हस्पिटलले बुधबार अस्पताल परिसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा एन्जियोप्लाष्टी गर्ने चिकित्सकीय टोलीका संयोजक डा. यादव भट्टले भने–‘बिहान १०ः३० बजेबाट उहाँको एन्जियोप्लाष्टी सुरु भएको थियो, ४५ मिनेटमा त्यो सम्पन्न भयो।’ 

पूर्वराजा ज्ञानेन्द्रको एन्जियोप्लाष्टी सफलतापूर्वक सम्पन्न भएको र उनलाई हाल आइसियूमा राखिएको छ । ‘उहाँलाई २–३ दिनमा डिस्चार्ज दिइनेछ ।’ उनले थपे –‘गत साता रुटिन स्वास्थ्य परीक्षण गर्दा हामीलाई उहाँको स्वास्थ्य अवस्थामा केही परिवर्तन आएको संकेत भएको थियो । हाम्रै सल्लाहमा एन्जियोग्राफी गर्दा ब्लकेज देखियो ।’

डा. भट्टले पूर्वराजा ज्ञानेन्द्रलाई हृदयघात हुनसक्ने ठूलो दुर्घटना टारिएको समेत प्रतिक्रिया दिए । चुरोट पिउन छाडे पनि ज्ञानेन्द्रलाई फेरि हृदयघातको पूर्व संकेत किन देखियो त ? भन्ने पत्रकारको प्रश्नमा चिकित्सकहरुले भने–‘यो वंशानुुगणत कारणले हो । राजा वीरेन्द्र, महेन्द्र, पूर्व युवराज पारस सबैलाई यो समस्या देखिएको थियो ।’ 

नर्भिक इन्टरनेशनल हस्पिटलका चिकित्सकहरुले नशामा ब्लकेज देखिएपछि त्यसलाई खुलाउने प्रक्रियामा ढिलासुुस्ती नगर्न सर्वसाधारणहरुलाई सचेत गराएका छन् । नर्भिक इन्टरनेशनल हस्पिटलले ब्लकेज खुलाउने शल्यक्रिया बढीमा ६० मिनेटमा सम्पन्न गर्दै आएको छ, यही शल्यक्रिया विदेशमा भने ९० मिनेट लाग्छ । ‘विदेशजस्तै सेवा दिन हामी सक्षम छौ ।’ चिकित्सक डा. भट्टले भने–‘ब्लकेज खुलाई हृदयघातबाट बचाउ एन्जियोप्लाष्टी गर्दा नर्भिकमा बढीमा २ लाख ५० हजार मात्र खर्च हुन्छ ।’