काठमाण्डौ । सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई साधारण तारेखमा राखी थुनामुक्त गर्न आदेश दिएको छ । 

कर फस्र्यौट आयोगमार्फत करोडौंको अनियमितता गरेको अभियोगमा गत जेठ १९ गते पक्राउ परेका शर्मा सर्वोच्चकै आदेशबाट यसअघि(साउन १७ गतेदेखि) न्यायिक हिरासतमा थिए । त्यसअघि उनलाई अख्तियारको हिरासतमा राखिएको थियो । 

शर्मालाई कर फस्र्यौट आयोगमार्फत १३ अर्ब भन्दा बढी भ्रष्टाचार गरेको भन्दै अख्तियारले नियन्त्रणमा लिई विशेष अदालतमा मुद्धा दायर गरेपछि उनकी पत्नी कल्पना उप्रेती शर्माले गैरकानूनी थुनामा राखिएको भन्दै असार २७ गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट हालेकी थिइन् । सोही रिट उपर अन्तिम सुनुवाई गर्दै सर्वोच्चले शर्मालाई थुनामुक्त गर्न आदेश दिएको हो ।

सर्वोच्च अदालतका दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत पूर्ण इजलाशले शुक्रबार शर्मालाई थुनामुक्त गरी साधारण तारेखमा राख्न आदेश दिएको बताइएको छ । 

अदालतले शर्मा थुनामुक्त भए पनि उनीमाथिको सुनुवाई भने जारी रहने प्रष्ट्याएको छ । 

शर्मा थुनामुक्त भएपनि उनीमाथिको सुनुवाइ भने जारी रहने अदालतले जनाएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फस्र्यौट आयोगको सदस्य सचिव शर्मासहित आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालविरुद्ध १० अर्ब २ करोड रुपैयाँको माग दाबी गर्दै साउन १ गते विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।