काठमाण्डौ । युनियन हाइड्रोपावर कम्पनी लिमीटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाले समेत नकिनेको सेयर समेत जोडेर सर्वसाधारणका लागि ३५ लाख ३४ हजार ३४० कित्ता आइपीओ आगामी चैत १३ देखि निश्कासन गर्ने भएको छ । 

आइपीओमा छिटोमा चैत १७ गते र ढिलोमा बैशाख १२ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । 

इच्छुकले न्यूनतम ५० देखि अधिकतम ३५००० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । प्रतिकित्ता १०० रुपैयाँ दरले सेयर निश्कासन हुने भएकोले साथमा ५ हजार रुपैयाँ हुनेले यो कम्पनीको सेयरमा आवेदन दिन सक्नेछन्।

यो कम्पनीले गत साउन १४ गतेदेखि आयोजना प्रभावितका लागि ७ लाख ५० हजार कित्ता आइपीओ निश्कासन गरेको थियो । तर, ६ लाख २१ हजार ७९० कित्ता बिक्री भएको थिएन । बिक्री नभएको सो कित्ता समेत जोडेर सर्वसाधारणका लागि ३५ लाख ३४ हजार ३४० कित्ता आइपीओ निश्कासनका लागि धितोपत्र बोर्डले माघ २८ गते कम्पनीलाई अनुमति दिएको थियो । 

यसअघि सर्वसाधारणका लागि २९ लाख १२ हजार ५ सय कित्ता सेयर छुट्याइएको थियो ।

आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमीटेड रहेको छ । 

इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ग्रेड फाइभको रेटिङ दिएको छ, जसको अर्थ कम्पनीको अवस्था निकै कमजोर छ भन्ने हो । 

धितोपत्र बोर्डले फोर भन्दा खराब ग्रेड पाउने कम्पनीलाई आइपीओ निश्कासनमा रोक लगाउने नयाँ व्यवस्था गरे पनि सो व्यवस्था हुनुअघि नै प्रक्रियामा रहेकोले यो कम्पनीले खराब रेटिङका बाबजुद आइपीओ निश्कासनको अनुमति पाएको हो । 

युनियन  हाइड्रोपावरले ३.३ मेगावाट क्षमताको मिडिम खोला प्रोजेक्ट निर्माण गरिरहेको छ । यो कम्पनीले २३ मेगावाटको मेगाखोला प्रोजेक्ट निर्माणको समेत अनुमति पाइसकेको छ ।

यो आयोजनाको कुल लागत ७९ करोड ४० लाख रहेको छ । प्रति मेगावाट लागत मूल्य २६ करोड ५० लाख हुने अनुमान गरिएको छ । आइपीओपछि कम्पनीमा प्रमोटर र सर्वसाधारण सेयरधनीको सेयर अनुपात ५१.१६ ः ४८.८३ प्रतिशत कायम हुनेछ ।