काठमाण्डौ । “शान्ति, सम्बृद्धि तथा स्वच्छ वातावरणका लागि पुष्प व्यवसाय” भन्ने नाराका साथ तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो २०७३ काठमाडौंमा हुने भएको छ । 

नेपाल सरकार कृषि बिकास मन्त्रालयको सहयोग तथा फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा चैत १७ गतेबाट ४ दिनसम्म चल्ने यो एक्स्पोमा २८ वटा अन्तर्राष्ट्रियसहित कुल ९९ सयवटा स्टलहरु रहने छन् । 

आइतबार आयोजित पत्रकार सम्मेलनमा बताइए अनुसार मेलामा मौसमी फूल, आलंकारीक बोटबिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनखरी, कम्पोष्ट मल, फूलको गानो, बिउविजन, ग्रीन हाउस, कृषि औजार, उपकरण, प्याकेजिङका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रबिधि र विषादीका प्रदर्शनी तथा बिक्री कक्ष रहेनछन् । 

मेलामा सहभागी हुने पुुष्प व्यवसायीहरुले उत्पादन गरेका फूल बिरुवाहरुबीच स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न बिधाहरुमा प्रथम हुने पुष्प व्यवसायीलाई नगद, सिल्ड तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने समेत कार्यक्रम रहेको फ्यानले जनाएको छ  । 

यो तेस्रो अन्तराष्ट्रिय फ्लोरा एक्स्पो बाटपुष्प व्यवसाय संचालन गर्न चाहने, घर आगन तथा बगैंचा सजाउन चाहने, फूल विरुवाप्रति अभिरुची राख्ने तथा यस सम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैको निम्ति उपयोगी हुने विश्वास एशोसिएशनले लिएको छ । साथै पुष्प व्यवसायको क्षेत्रमा भए गरेका नयाँ नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि मेला स्थलमा नै प्राप्त गर्न सकिने छ । 

प्रबिधी बिस्तारका लागि भारत, बंगलादेश, श्रीलंका, चीन र दक्षिण कोरिया लगायत मुलुकबाट पुष्प व्यवसायीहरु मेलामा सहभागी हुने मेला संयोजक तथा बरिष्ठ उपाध्यक्ष दिलिप बादेले जानकारी दिए । अन्तराष्ट्रिय स्तरमा प्रयोग भईरहेको प्रबिधीको बिषयमा २८ वटा स्टलहरु राखिएका छन् । 

एक्स्पो अबधि भरमा ६५ हजार अवलोकनकर्ता तथा ७५ लाख बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।

नेपालमा बि.स. २०११ मा नेपाल प्राइभेट नर्सरीको स्थापना संगै सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय आ.ब. २०७२/७३ सम्म आई पुग्दा हाल ३९ जिल्लामा लगभग ६७८ पुष्प व्यवसाय बिस्तार भईसकेको छ । लगभग १४८ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको र ४१,००० भन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आश्रित र रोजगारी पाएका छन् ।  आ.ब.२०७२/७३ मा ६.०४ करोड बराबरको पुष्प तथा पुष्पजन्य बस्तुको आयात भएको छ ।