काठमाण्डौ । सनराइज बैंक लिमीटेडले ५ वर्षे अवधिको ऋणपत्र जारी गर्ने भएको छ । 

यो बैंकले आगामी चैत २० गतेदेखि १ अर्ब रुपैयाँ बराबरको १० प्रतिशत सनराइज डिवेञ्चर २०८० निश्कासन गर्ने भएको हो । 

बैंकलाई धितोपत्र बोर्डले चैत १ गते ऋणपत्र बिक्रीको अनुमति दिएको थियो। 

बैंकले १ हजार दरका १० लाख युनिट ऋणपत्र बिक्री गर्न लागेको हो । 

ऋणपत्रमा छिटोमा चैत २५ गते र उक्त अवधिमा बिक्री नभएको खण्डमा बैशाख १९ गतेसम्म आवेदन गर्न सक्नेछन् । 

ऋणपत्रमा लगानी गर्नेले वार्षिक १० प्रतिशत ब्याज पाउनेछ । ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुने बैंकले जनाएको छ । 

बैंकले जारी गर्न लागेको कुल १० लाख युनिटमध्ये ४० प्रतिशतले हुन आउने ४ लाख युनिट सर्वसाधारणका लागि तथा बाँकी ६० प्रतिशतले हुन आउने ६ लाख युनिट भने व्यक्तिगत तवरबाट बिक्री हुनेछ ।

ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल मार्केट लिमीटेड रहेको छ । 

बैंक तथा वित्तीय संस्थाहरुले पछिल्लो समय धमाधम ऋणपत्र निश्कासन गरिरहेका छन् । निक्षेप संकलनको दीर्घकालीन औजार भएका कारण बैंकहरुको ऋणपत्रमा आकर्षण बढे पनि लगानीकर्ताहरुले भने पत्याएका छैनन् । पछिल्लो समय निश्कासन भएका अधिकांश ऋणपत्र बिक्री हुन सकेको छैन । 

हाल एनएमबी र ग्लोबल आइएमई बैंकको ऋणपत्र निश्कासनको अवस्थामा छन् । यी दुवै बैंकको ऋणपत्रमा न्यून मात्र आवेदन परेको छ । 

निकट भविष्यमा अन्य वाणिज्य बैंकहरुले पनि ऋणपत्र जारी गर्ने योजना बनाएका छन् । 

ऋणपत्र जारी गर्दा निश्चित प्रतिशत ब्याज दिए पुग्छ। ऋणपत्रलाई पूँजीकोष अनुपातमा मिलाउन पाइने भएकाले समेत बैंकहरुको ध्यान पछिल्लो समयमा यस्ता उपकरणतर्फ केन्द्रीत भएको हो ।