काठमाण्डौ । सरकारले चैत ५ अघि नै नेपाल राष्ट्रबैंकको नयाँ गभर्नर नियुक्त गर्ने भएको छ । 

बिहीबार संचार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सो मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । 

संचारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा सरकारले हालका गभर्नरको कार्यकाल सकिनुअघि नै नयाँ गभर्नर नियुक्त गरिसक्ने बताएका हुन् । हालका गभर्नर डा. चिरञ्जिवी नेपालको कार्यकाल चैत ५ गते सकिँदैछ । यसको अर्थ सोभन्दा अघि नै सरकारले नयाँ गभर्नर नियुक्त गरिसक्नेछ । 

नयाँ गभर्नर नियुक्तिका लागि अर्थमन्त्री नै संयोजक रहने छनौट तथा सिफारिस समितिले ३ नाम क्याबिनेटमा पेश गर्नुपर्ने हुन्छ । ती नाममध्येबाट एकजनालाई मन्त्रीपरिषद बैठकले गभर्नर नियुक्त गर्नेछ। 

नेपाल राष्ट्रबैंक ऐनमा बहालवाला गभर्नर आफ्नो कार्यकाल सकिनु एकमहिनाअघिदेखि नै विदामा बस्नसक्ने व्यवस्था छ । तर, अर्थमन्त्रीको रुपमा आफू रहने वा नरहने भन्ने अन्यौलमा रहेका अर्थमन्त्री डा. खतिवडाकै कारण डा. नेपालले एक महिनाअघिदेखि विदामा बस्ने मौका पाएनन् । 

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा डा. खतिवडाले फागुन २१ गते आफूले पुनः अर्थमन्त्रीको सपथ लिने समेत पत्रकारहरुलाई बताएका छन् । 

नेकपाको सचिवालयले उनी राष्ट्रियसभा सदस्य रहेको ठाउँमा बामदेव गौतमलाई पठाउने निर्णय गरे पनि सो निर्णय आफूले कार्यान्वयन नगर्ने प्रधानमन्त्रीले अडान लिई गौतमको साटो खतिवडाको नाम राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि राष्ट्रपतिलाई सिफारिस गरिसकेका छन् । यही कुरा बुझेका अर्थमन्त्रीले आफू नै अर्थमन्त्रीमा निरन्तर रहने औपचारिक रुपमै बताएका हुन् । राष्ट्रपतिले यसपटक गर्ने मनोनयन ६ वर्षका लागि हुनेछ ।