काठमाण्डौ । कुमारी बैंक लिमीटेडले आगामी चैत ६ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर निश्कासन गर्ने भएको छ । 

बिहीबार एक सूचना प्रकाशित गर्दै यो वाणिज्य बैंकले चैत ६ गतेदेखि बैशाख १० गतेसम्म सेयरधनीले ५० प्रतिशत हकप्रदका लागि आवेदन दिनसक्ने जनाएको छ । 

कुमारी बैंकले १ सय रुपैयाँ अंकित मूल्यको कुल १ करोड ३४ लाख ९५ हजार ८ सय ३२ कित्ता हकप्रद निश्कासन गर्न लागेको हो । कुमारीको हकप्रदका लागि बुक क्लोजको मिति फागुन २० अर्थात(भोलि)लाई तोकिएको छ। यही कारण समेत बिहीबार कुमारी बैंकको १० करोड बढीको सेयर किनबेच भएको थियो । 

फागुन १९ गते(आज)सम्म कुमारी बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरु मात्र ५० प्रतिशत हकप्रदका लागि योग्य ठानिनेछन् । 

कुमारीको हकप्रद निश्कासन तथा व्यवस्थापनमा सिद्धार्थ क्यापिटल लिमीटेड बिक्री प्रबन्धक रहेको छ । सेयरधनीले काठमाण्डौको अनामनगरस्थित सिद्धार्थ क्यापिटलको मुख्य कार्यालय तथा कुमारी बैंकका सबै शाखा कार्यालयबाट हकप्रदका लागि आवेदन भर्न सक्नेछन् । 

यो हकप्रद निश्कासन र व्यवस्थापन भइसकेपछि कुमारी बैंकको चुक्तापूँजी हालको २ अर्ब ६९ करोडबाट बढेर ४ अर्ब ४ करोडको उचाईमा पुुग्नेछ । कुमारी बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक, पश्चिमाञ्चल फाइनान्स, काक्रेबिहार विकास बैंक र महाकाली विकास बैंकलाई अक्वायर गर्ने प्रक्रिया अन्तिम चरणमा छ । कुमारी बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म २७ करोड ९३ लाख खूद नाफा आर्जन गरेको छ । 

बिहीबारको यो बैंकको अन्तिम कारोबार मूल्य प्रति कित्ता ५ सय १६ रुपैयाँ रहेको छ ।