काठमाण्डौ । आरम्भ लघुवित्त वित्तीय संस्थासँगको मर्जर प्रक्रियालाई टुंगो लगाउने मुख्य अजेन्डासहित चौतारी लघुवित्त वित्तीय संस्थाले आफ्नो चौथो वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।

संस्थाको सञ्चालक समितिको गत शनिबार बसेको बैठकले संस्थाको वार्षिक साधारणसभा पुस ९ गते रुपन्देहीको बुटवलमा गर्ने निर्णय गरेको छ ।

सभामा मुख्य अजेन्डाका रुपमा आरम्भ लघुवित्तसँगको मर्जर प्रक्रियालाई टुंगो लगाउने हुनेछ । दुवै संस्था आपसमा गाभ्ने र गाभिने प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त दुवै वित्तीय संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारेको मूल्यांकन प्रतिवेदन (डीडीए) समेतका आधारमा संयुक्त मर्जर समितिबाट निर्धारण गरिएको यसेयर स्वाप अनुपात १ः१ पारित गरी मर्जर प्रक्रियालाई सभाले स्वीकृत प्रदान गर्नेछ ।

सभाले दुवै संस्था आपसमा मर्ज भएपछि बन्ने नयाँ संस्थाको नाम आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड रहने प्रस्ताव पनि पारित गर्नेछ । यसको केन्द्रीय कार्यालय भने काभ्रेको बनेपामा रहनेछ ।

यसैगरी सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको चुक्ता पुँजी १८ करोड ६० लाख रुपैयाँको १०.८९ प्रतिशतले हुन आने २ करोड २ लाख ६४ हजार २१०.५३ रुपैयाँबराबरको नगद लाभांश र ७ प्रतिशतले हुन आउने १ करोड ३० लाख २० हजार रुपैयाँबराबरको बोनस सेयर पनि पारित गर्नेछ ।

संस्थाले लाभांश र साधारणसभा प्रयोजनका लागि मंसिर २२ गतेदेखि पुस ९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको मतलब संस्थाको लाभांश पाउन र साधारणसभा भाग लिन मंसिर २० गतेभित्र सेयरधनी कायम हुनुपर्नेछ । मंसिर २१ गते शनिबार परेको छ ।