काठमाण्डौ । बुटवलमा केन्द्रीय कार्यालय रही विभिन्न १० जिल्लामा कार्यक्षेत्र रहेको चौतारी लघुवित्तले ५ करोड ४० लाख मूल्य बराबरको आइपीओ निश्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । 

यो कम्पनीले १०० रुपैयाँ अंकित दरका ५ लाख ४० हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ)का लागि बोर्डमा असार ७ गते आवेदन दिएको हो । 

यो कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धको काम एनआइबिएल एस क्यापिटल लिमीटेडले गर्नेछ । 

हाल चौतारीको चुक्तापूँजी १२ करोड ६० लाख रुपैयाँ रहेको छ । आइपीओपछि १८ करोडको उचाईमा पुग्नेछ । 

चौतारी लघुवित्तले १७ करोड ६४ लाख ५२ हजार रुपैयाँ बचत संकलन गरेर ६१ करोड ५० लाख ७८ हजार कर्जा प्रवाह गरेको छ । चालु आवको तेस्रो त्रैमासिकसम्ममा संस्थाले ६५ लाख ४२ हजार खुद नाफा गरेको छ ।

लघुवित्तको कार्यक्षेत्र रुपन्देही, नवलपरासी, कपिलवस्तुु, गुुल्मी, अर्घाखांची, पाल्पा, दाङ ,प्यूठान, रोल्पा र सल्यान रहेको छ । २०७२ सालमा बित्तीय सेवा संचालनको अनुमति पाएको यो कम्पनीको हाल ३४ शाखा रहेका छन्।