काठमाण्डौ । बुटवलमा केन्द्रीय कार्यालय रही विभिन्न १० जिल्लामा कार्यक्षेत्र रहेको चौतारी लघुवित्तले निश्कासन गर्न लागेको ५ करोड ४० लाख मूल्य बराबरको आइपीओलाई इक्रा नेपालले आइपीओ ग्रेड फोरको रेटिङ प्रदान गरेको छ । 

यसको अर्थ कम्पनीको अवस्था औसत भन्दा कमजोर छ भन्ने हो । इक्राले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ, जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने गे्रड ५ ले कमजोर आधारहरु जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक  स्थितिलाई जनाउँछ । 

यो कम्पनीले १०० रुपैयाँ अंकित दरका ५ लाख ४० हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासनका लागि धितोपत्र बोर्डमा असार ७ गते आवेदन दिएको छ । 

यो कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धको काम एनआइबिएल एस क्यापिटल लिमीटेडले गर्नेछ । 

हाल चौतारीको चुक्तापूँजी १२ करोड ६० लाख रुपैयाँ रहेको छ । आइपीओपछि १८ करोडको उचाईमा पुग्नेछ । 

चालु आवको तेस्रो त्रैमासिकसम्ममा संस्थाले ६५ लाख ४२ हजार खुद नाफा गरेको छ ।

लघुवित्तको कार्यक्षेत्र रुपन्देही, नवलपरासी, कपिलवस्तुु, गुुल्मी, अर्घाखांची, पाल्पा, दाङ ,प्यूठान, रोल्पा र सल्यान रहेको छ । २०७२ सालमा बित्तीय सेवा संचालनको अनुमति पाएको यो कम्पनीको हाल ३४ शाखा रहेका छन्।