काठमाण्डौ । बुटवलमा केन्द्रीय कार्यालय रही विभिन्न १० जिल्लामा कार्यक्षेत्र रहेको चौतारी लघुवित्तले निश्कासन गरेको आइपीओमा अचाक्ली आवेदन परेको छ । 

अन्तिम दिन आइतबार साँझ ६ः३० बजेसम्मको तथ्यांक अनुसार चौतारीको आइपीओमा १ करोड ७१ लाख ८९ हजार ७ सय ५० कित्ता खरीदका लागि आवेदन परेको हो । यो भनेको मागभन्दा ३१ गुणा बढी आवेदन हो । 

देशभरबाट २ लाख ७३ हजार ६ सय १० जनाले आइपीओ खरीदका लागि आवेदन दिएका छन् । साँझसम्मको मात्र तथ्यांक भएकोले सोमबार बिहान १० बजेसम्म मात्र अन्तिम तथ्यांक प्राप्त हुने सिडिएससीले जनाएको छ । 

यो कम्पनीले निश्कासन गरेको कुल ६ लाख कित्तामध्ये ९ हजार ३ सय कित्ता लघुवित्तका कर्मचारीका लागि र ३० हजार कित्ता म्युचुअल फण्डका लागि सुरक्षित गरिएको छ । बाँकी ५ लाख ६० हजार ७ सय कित्ता सर्वसाधारणका लागि हुनेछ ।

यही तथ्यांकका आधारमा हिसाब गर्दा समेत १० कित्ताको दरले ५६ हजार ७० जनाले सेयर पाउनेछन् भने बाँकी २ लाख १७ हजार ५ सय ४० बढीको हात रित्तो हुनेछ । 

कम्पनीको आइपीओ खरीदका लागि इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ३ हजार कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । 

यो कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धको काम एनआइबिएल एस क्यापिटल लिमीटेडले गरिरहेको छ ।

हाल चौतारीको चुक्तापूँजी १२ करोड ६० लाख रुपैयाँ रहेको छ । आइपीओपछि १८ करोड ६० लाखको उचाईमा पुग्नेछ । 

लघुवित्तको कार्यक्षेत्र रुपन्देही, नवलपरासी, कपिलवस्तुु, गुुल्मी, अर्घाखांची, पाल्पा, दाङ ,प्यूठान, रोल्पा र सल्यान रहेको छ । २०७२ सालमा बित्तीय सेवा संचालनको अनुमति पाएको यो कम्पनीको हाल ३४ शाखा रहेका छन्।