काठमाण्डौ । नेपालमा एकैदिन कोरोना भाइरसबाट हालसम्मकै धेरैको मृत्यु भएको छ । 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको हो । यो संख्या २४ घण्टाको अवधिमा कोरोनाका कारण मृत्यु हुने हालसम्मकै धेरै हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाण्डौदेखि देशका विभिन्न क्षेत्रका अस्पतालहरुमा उपचार गराइरहेका संक्रमितहरु छन् । 
मन्त्रालयका अनुसार ललितपुरस्थित किस्ट अस्पतालमा उपचाररत काठमाडौंको टेकुकी ७८ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनी २ दिनअघिदेखि सो अस्पतालमा उपचार गराइरहेकी थिइन् । उनका मधुमेह र उच्च रक्तचापको समेत समस्या थियो । 

यस्तै, धादिङ निलकण्ठ नगरपालिका १४ निवासी ३२ वर्षीय पुरुषको साउन २७ गते काठमाण्डौको ह्याम्स अस्पतालमा मृत्यु भयो । उनी क्षयरोगी थिए ।

उता, धनुषाको जनकपुर उपमहानगरपालिका १ निवासी ७१ वर्ष पुरुषको मेडिसिटी अस्पतालमा उपचारका क्रममा साउन २८ गते मृत्यु भयो । उनलाई भने साउन ७ गते कोरोना पुष्टि भई उपचारमै थिए । 

यस्तै, साउन १८ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेकी धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका ८ की ३८ वर्षीया महिलाको कोरोना संक्रमणबाट साउन २८ गते मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनमा कोरोना संक्रमण रहेको १० दिनअघि थाहा भएको थियो । 

पछिल्लो २४ घण्टाभित्र सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका ८ घर भएका ७२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनी थाइरोड तथा मधुमेहका तथा मुटुरोगी थिए ।

यसैगरी, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउँदै गर्दा मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका–२ का ५५ वर्षीय पुरुषको साउन २८ गते कोरोना संक्रमणबाटै मृत्यु भएको त्यहाँको अस्पताललाई उद्धृत गर्दै मन्त्रालयले जनाएको छ । उच्च ज्वरो तथा खोकी लागी श्वासप्रश्वासमा समेत समस्या भएपछि उनलाई २ दिनअघि मात्र अस्पताल ल्याइएको थियो । 

मन्त्रालयका अनुसार यो अवधिमा कपिलवस्तु नगरपालिका २ तौलिहवा निवासी ४२ वर्षीय पुरुषको साउन २८ गते कोरोनाका कारण मृत्यु भएको छ । ज्वरो तथा निमोनियाबाट ग्रस्त भई ती पुरुष साउन २५ गते बुटवलको कोरोना विशेष अस्पताल भर्ना भएका थिए । त्यसको २ दिनपछि कोरोना पुष्टि भएको थियो भने तीन दिनपछि मृत्यु भयो ।

मन्त्रालयका अनुसार बारा जिल्ला कलैया उपमहानगरपालिका निवासी ७५ वर्षीय पुरुषको साउन २८ गते किष्ट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भयो । उनी त्यहाँ दुई दिनअघि भर्ना भएका थिए । उनी मृगौला र दमका रोगी थिए । 

पछिल्लो समय मृत्यु भएका ८ सहित हाल नेपालमा कोरोना संक्रमणबाट मर्नेको संख्या ९१ पुगेको मन्त्रालयले जनाएको छ ।