काठमाण्डौ । गत ३१ वैशाखमा भएको मतदानमा झन्डै एक लाख १२ हजार भरतपुरवासीले मतदान गरे । करिब एक लाख आठ हजार मत सुरक्षित गनियो । गणना गर्न बाँकी अन्तिम चार हजार मत निर्णायक हुनेवाला थियो । तर, सो मतगणना हुनै पाएन । एकाएक मतपत्र च्यातिएपछि अब वडा नं. १९ मा पुनः मतदान कि मतगणनालाई निरन्तरता दिने भन्ने अन्योल छाएको छ ।

माओवादी केन्द्र र कांग्रेस गठबन्धन उम्मेदवार रेणु दाहालले करिब ३८ सयबाट मतान्तर सात सयमा झारिसकेकी थिइन् । आइतबार राति भरतपुरस्थित कभर्ड हलमा वडा नं. १९ को मतगणना भइरहेको थियो । त्यसपछि गणना हुन वडा नं. २० मात्र बाँकी थियो ।

मतपत्र च्यातिएको घटनाबारे छानबिन गर्न गठित समितिले बुधबार निर्वाचन आयोगलाई प्रतिवेदन बुझाउँदै छ । अनुसन्धान सकेर समिति सदस्यहरु मंगलबार दिउँसो नै काठमाडौं फर्किएका छन् । छानबिन समितिका संयोजक गीताप्रसाद तिमल्सिना नेतृत्वको टोली सोमबार साँझ भरतपुर आइपुगेको थियो ।

समितिमा गृह मन्त्रालयका सहसचिव महेश आचार्य र प्रहरी प्रधान कार्यालयका डीआईजी मोहन भण्डारी सदस्य छन् । समितिले प्रतिवेदन बुझाएपछि यसबारे निर्वाचन आयोगले उचित निर्णय लिनेछ । यो खबर आजको नयाँपत्रिकामा छापिएको छ ।