काठमाण्डौ । छिमेक लघुवित्त बित्तीय संस्था लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट लगानीकर्तालाई ४० प्रतिशत लाभांश वितरण गर्ने यसअघिको प्रस्तावलाई पुनः अगाडि बढाएको छ । 

नेपाल राष्ट्रबैंकले यो कम्पनीको संचालक समितिले गरेको १८ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई अस्वीकृत गरिदिएको थियो । सँगै, केही मापदण्ड पूरा गर्न समेत केन्द्रीय बैंकले निर्देशन दिएको थियो ।  

छिमेकको ४० प्रतिशत लाभांश पाउने लोभले धेरै लगानीकर्ताले यो कम्पनीको सेयर किनेका थिए । तर, केन्द्रीय बैंकले छिमेकको प्रस्ताव अस्वीकार गरेपछि धेरैले आफूहरु ठगिएको र डूबेको अनुभूति गरेका थिए।

तर, छिमेक लघुवित्तको संचालक समितिले पुरानै प्रस्तावलाई पुनः अगाडि बढाउने निर्णय गरेको हो । छिमेकस्थित उच्च स्रोतका अनुसार राष्ट्रबैंकको सल्लाहमा बुधबार(माघ ९ गते) पुनः पुरानै लाभांश वितरणको प्रस्ताव स्वीकृतिका लागि पेश भएको छ । 

छिमेक लघुवित्तले पुनः १८ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश वितरणकै प्रस्ताव नेपाल राष्ट्रबैंकमा स्वीकृतिका लागि पेश गरेको कम्पनीस्थित उच्च स्रोतले जानकारी दिएको छ । 

कम्पनीका एक  अधिकारीले राष्टबैंककै सल्लाह अनुसार फण्ड ट्रान्सफरको समस्या हल भएपछि र अन्य आवश्यक मापदण्ड समेत पूरा गरेपछि आवेदन अगाडि बढाइएको हो । ‘पहिला पनि राष्ट्रबैंकले प्रस्तावित लाभांश अस्वीकृत गरेको थिएन, मापदण्ड पूरा गर मात्र भनेको थियो ।’ ती अधिकारीले दाबी गर्दै भने ।