काठमाण्डौ । छिमेक लघुवित्त बित्तीय संस्था लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट लगानीकर्तालाई वितरण गर्ने गरी प्रस्ताव गरेको ४० प्रतिशत लाभांश नेपाल राष्टबैंकले ढिलो गरी स्वीकृत गरेको छ । 

नेपाल राष्ट्रबैंकले यो कम्पनीको संचालक समितिको २१ औं बैठकले गरेको १८ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई अस्वीकृत गरिदिएको थियो । सँगै, केही मापदण्ड पूरा गर्न समेत केन्द्रीय बैंकले निर्देशन दिएको थियो ।  

छिमेकको ४० प्रतिशत लाभांश पाउने लोभले धेरै लगानीकर्ताले यो कम्पनीको सेयर किनेका थिए । तर, केन्द्रीय बैंकले छिमेकको प्रस्ताव अस्वीकार गरेपछि धेरैले आफूहरु ठगिएको र डूबेको अनुभूत गरेका थिए।

तर, छिमेक लघुवित्तको संचालक समितिले पुरानै प्रस्तावलाई पुनः अगाडि बढाउने निर्णय गरेको थियो । राष्ट्रबैंकको सल्लाहमा माघ ९ गते पुनः पुरानै लाभांश वितरणको प्रस्ताव स्वीकृतिका लागि पेश भएको थियो । 

छिमेक लघुवित्तले पुनः १८ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश वितरणकै प्रस्ताव नेपाल राष्ट्रबैंकमा स्वीकृतिका लागि पेश गरेको र त्यसलाई केन्द्रीय बैंकले स्वीकृत गरी बैशाख ५ गते(बिहीबार) पत्र पठाएको हो । 

राष्ट्रबैंककै सल्लाह अनुसार फण्ड ट्रान्सफरको समस्या हल भएपछि र अन्य आवश्यक मापदण्ड समेत पूरा गरेपछि आवेदन अगाडि बढाइएको थियो । ‘पहिला पनि राष्ट्रबैंकले प्रस्तावित लाभांश अस्वीकृत गरेको थिएन, मापदण्ड पूरा गर मात्र भनेको थियो ।’ ती अधिकारीले दाबी गर्दै भने । 

राष्ट्रबैंकबाट स्वीकृत यो लाभांश प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।