काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को लाभांश हालसम्म पनि लगानीकर्ताहरुलाई वितरण गरेको छैन ।

गत बैशाख ५ गते नेप्सेलाई एक पत्र लेख्दै छिमेक लघुवित्तले आ.व.२०७४/७५ को कुल (बोनस १८प्रतिशत, नगद २२ प्रतिशत नगद) हालसम्म पनि सेयरधनीहरुलाई वितरण नगर्दा सूचीकृत कम्पनीलाई नियमन गर्ने नेपाल धितोपत्र बोर्ड, नेप्से र नेपाल राष्ट्र बैंक बेखबर झैं बनेका छन् । 

सो लघुवित्तले आ.व.२०७५/७६ का लागि लाभांश(२७.१२ प्रतिशत बोनस र १७.२२ प्रतिशत नगद) आगामी १८ औं वार्षिक साधारणसभाबाट पारित गर्दैछ । छिमेकले आगामी मंसिर ३० गते बस्ने साधारणसभाबाट पारित गर्ने बेला भइसक्दा समेत २ वर्षअघिको लाभांश वितरण गर्न लापरवाही गरेको देखिन्छ । 

बिजशाला स्रोतका अनुसार छिमेक लघुवित्तका संस्थापक सेयरधनीको बठ्यार्इँ अनुसार नै सो लाभांश वितरणमा ढिलाइ भइरहेको हो । संस्थापक सेयरधनीहरुले आफ्नो पब्लिक सेयरमा परिणत भएका सेयरहरु वितरण गर्नुअघि आपूर्ति कम हुँदै उच्च मूल्यमा बेच्न सर्वसाधारण लगानीकर्ताहरुको खातामा पठाउन ढिलाई गरिएको स्रोत बताउँछ ।  

लाभांश वितरणको समयसीमाका विषयमा स्पष्ट कानून नहुँदासमेत सूचीकृत कम्पनीहरुको बदमासी दिनानुदिन बढिरहेको सरोकारवाला बताउँछन् । 

कम्पनीहरुमा गरिएको सेयर लगानीबाट लाभांश पाउने आशामा रहेका लगानीकर्तामाथि सूचीकृत कम्पनीहरुबाट हुने यस्ता धोकाधडीप्रति नियामक समेत चूप बसिदिँदा सर्वसाधारण लगानीकर्ताहरु वर्षभरिको कमाइ(लाभांश) पाउनबाट बञ्चित हुनु परिरहेको बताइन्छ ।

छिमेक लघुवित्तका कम्पनी सचिव दिलीपकुमार श्रेष्ठले लाभांश वितरणमा ढिलाई भएको स्वीकारे । कम्पनी रजिष्टारको कार्यालयमा कार्यालय प्रमुखको अनुपस्थिति भएकाले रजिष्टार कार्यालयमा रोकिएको उल्लेख गर्दै नेप्सेमा सूचीकृत हुन ढिलाइ भएको कम्पनी सचिव श्रेष्ठको जिकिर छ । ‘आगामी वार्षिक साधारणसभा अगाडि नै हामी आ.व.२०७४/७५को लाभांश लगानीकर्ताको खातामा पठाउने तीव्र तयारी गरिरहेका छौ।’ श्रेष्ठले भने ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले लाभांश वितरणमा भएको ढिलासुस्तीलाई रोक्ने आधार नेप्सेसँग नभएको जिकिर गरेका छन् । प्रवक्ता पराजुलीले यस्ता घटनामा नियामक नेपाल राष्ट्र बैंकले कडाइ गर्नुपर्ने दाबी गरे ।