काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले आज(बिहीबारदेखि) २५ प्रतिशत हकप्रद सेयर निश्कासन गरेको छ । 

यो बैंकले १० बराबर २.५ को दरले चैत २४ देखि निश्कासन गरेको हकप्रदका लागि सेयरधनीले बैशाख २७ गतेसम्म आवेदन दिनसक्नेछन् । 

यो बैंकले १ सय रुपैयाँ अंकित दरका कुल १ करोड ३८ लाख ४३ हजार ३ सय ७९ कित्ता हकप्रद निश्कासन गरेको हो । 

यो बैंकको २५ प्रतिशत हकप्रदका लागि फागुन २६ गतेलाई बुक क्लोजको मिति तोकिएको थियो । यसको अर्थ फागुन २५ गतेभित्र यो बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले हकप्रदका लागि आवेदन दिन सक्नेछन् । 

सानिमा क्यापिटल लिमीटेड यो बैंकको हकप्रद निश्कासन तथा व्यवस्थापनका लागि बिक्री प्रबन्धक रहेको छ । 

हाल यो बैंकको चुक्तापूँजी ५ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । २५ प्रतिशत हकप्रदपछि बैंकको चुक्तापुँजी ६ अर्ब ९२ करोड रुपैयाँको उचाईमा पुुगेको छ । 

इच्छुक सेयरधनीले काठमाण्डौको नक्सालस्थित सानिमा क्यापिटल, डिल्लीबजारस्थित सीबीआइएल क्यापिटलको मुख्य कार्यालय र सिटिजन्स बैंकका सबै शाखा कार्यालयमा गएर हकप्रदका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ ।