काठमाण्डौ । मंसिर १० गते नेप्सेमा भएको प्रदर्शन र आन्दोलनको क्रममा नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले आफूहरुलाई ‘चोर’ भन्दै गालीगलौज गरेको बिषयमा फोरम जिम्मेवार नदेखिएको भन्दै स्टक ब्रोकर एशोसिएसनले नेपाल स्टक एक्सचेञ्जलाई गुहारेको छ ।

मंसिर २० गते नेप्सेलाई एक पत्र लेख्दै स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाटले रौनियारको अभिव्यक्तिले आफूहरुको व्यवसायिक प्रतिष्ठामा खलल पुगेको  र यो विषयमा इन्भेष्टर्स फोरम गम्भीर नदेखिएको भन्दै आवश्यक कारबाहीका लागि आग्रह गरेका छन् । 

‘पदाधिकारीबाटै हुने यस्ता क्रियाकलापलाई इन्भेष्टर्स फोरमले प्रश्रय दिइरहेको हाम्रो ठम्याई छ ।’ पत्रमा भनिएको छ–‘यस्ता व्यक्ति तथा संगठनको संलग्नताले समग्र पूँजीबजार र यससँग सम्बन्धित सबैलाई असर पर्ने देखिन्छ ।’ 

धितोपत्र दलाल व्यवसायी नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी नेप्सेको समेत सदस्यको रुपमा संचालित रहेको उल्लेख गर्दै पत्रमा कानूनको परिधिभित्र रही व्यवसाय गरिरहेका आफ्ना सदस्यहरुमाथि नेप्सेकै प्रांगणमा अपमानजनक व्यवहारप्रति नेप्से प्रमुखको ध्यानाकर्षण गराइएको छ । 

रौनियारमाथि अविलम्ब कारबाही अगाडि बढाउन तथा भविष्यमा यस्ता क्रियाकलाप नदोहोरिन कडा नियमन, नियन्त्रण तथा कारबाहीका लागि समेत एशोसिएसनले आग्रह गरेको छ । 

फोरमका  अध्यक्ष अम्बिकाप्रसाद पौडेलले छोटेलालको नाम नै उल्लेख नगरी सो दिन नेप्से प्रांगणमा दिइएको अभिव्यक्ति माहौलवश आएको भन्दै दुःख व्यक्त गरिसकेका छन् । उनले छोटेलालको नाम नै उल्लेख नगरी त्यसरी अभिव्यक्ति दिने कार्यलाई त्रुटि भएको पनि भनिसकेका छन् । 

छोटेलालले ब्रोकरहरुको मानमर्दन हुने गरी मंसिर १० गते नेप्से प्रांगणमा के बोलेका थिए ? बिजशालाले सोही दिन प्रकाशन गरेको भिडियो हेर्नुहोस्: