काठमाण्डौ । भारतीय सेनाका एक जवान मोहम्मद अब्बासले आफ्ना भाईको साथमा आफ्नी ५५ वर्षीया आमाको शवलाई बोकेर १० फूट बाक्लो हिउँमा ३२ किलोमिटरको कठीन यात्रा पूरा गरेका छन् । 

२९ जनवरीको दिन सकिना बेगमको पठानकोटमा हृदयघातका कारण निधन भएको थियो । मोहम्मद अब्बास पठानकोटमा भारतीय सेनामा तैनाथ छन् । अब्बासले आफ्नी आमालाई साथमै राख्थे । 

निधन भएको भोलिपल्ट अब्बासले आफ्नी आमाको शव लिएर कुपवाडा जिल्लाको चौकीबालमा रहेको पैतृक गाउँ करनाहका लागि हिँडे । हाल यो गाउँ भारी हिँउ परेका कारण बाँकी दुनियाँसँग सम्पर्कबिच्छेद छ । अब्बासले श्रीनगर पुुगेर सरकारी मद्धतको निकै लामो समय प्रतिक्षा गरे । तर खराब मौसमको बाहाना देखाउँदै कुनै सहयोग आएन । 

आखिर उनले आफ्ना भाईसँग मिलेर श्रीनगरबाट आमाको शवलाई बोकेरै अगाडि बढे । श्रीनगरबाट उनको गाउँ १२० किलोमिटर टाढा हो । अब्बासले हार मानेनन् र ३२ किलोमिटर लामो दूरीसम्म १० फिट बाक्लो हिउँमा भासिएरै भए पनि आमाको शवलाई लिएर अगाडि बढे । त्यसपछि आसपासका गाउँलेहरुले समेत उनीहरुलाई सहयोग गरे र उनीहरु आफ्नी आमाको शवलाई गाउँ लैजान सफल भए । 

अब्बासका भाई मोहम्मद रफिकले आमाको शव लिएर श्रीनगर पुुग्दा सरकारी मद्धतका लागि ५० हजार भारु तिर्नुपर्ने शर्त राखिएको बताए । पहिला आफूहरुलाई श्रीनगर प्रशासनको तर्फबाट हेलिकोप्टर दिइने भनिए पनि त्यो सहयोग नपाइएको बताए । उनले सीपी क्षेत्रको तेंगराड गाउँका गाउँबासीहरुले आफूहरुलाई सहयोग गरेको बताए । १० फिट बाक्लो बरफमा रातभरि आमाको शव लिएर हिडँ्दा एक रातामा आधा किलोमिटरको दूरी मात्र पार गर्न सकेको कठीन समय समेत रफिकले सम्झिए । कुनै नेता वा एमएलएले आफूहरुको कुरा नसुनेको, बरु गाउँबासीले सहयोग गरेको उनले बताए । 

उनीहरु आमाको शवलाई लिएर २ फेब्रुुअरीको मध्यराति गाउँ पुुगेका थिए ।