काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावरको आइपीओमा आवेदन दिएका सर्वसाधारण लगानीकर्ताहरुका लागि खुशीको खबर । यो जलविद्युत कम्पनीको आइपीओमा सर्वसाधारणको आवेदन मात्र स्वीकार हुने भएको छ । 

धितोपत्र बोर्डले चार दिनअघि एक पत्रकार सम्मेलन गरी धितोपत्र निश्कासन तथा बाँडफाँड निर्देशिका २०७४ लागू भएको जानकारी दिएको थियो । सो निर्देशिकाले आइपीओका लागि प्राकृतिक व्यक्तिले मात्र आवेदन दिन पाउने र उनीहरुबाट पूरा आवेदन नपरे मात्रै संस्थागत लगानीकर्ताहरुले आवेदन दिन पाउने व्यवस्था गरेको थियो । यही व्यवस्था छ्याङ्दी हाइड्रोको आइपीओमा समेत लागूू हुने भएको हो । 

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल मार्केट लिमीटेडले एक सूचना प्रकाशित गर्दै संस्थागत लगानीकर्ताहरुले छ्याङ्दीको आइपीओ भर्न नपाउने स्पष्ट पारेको हो । जेठ १४ गतेदेखि खुलेको यो कम्पनीको आइपीओमा केही संस्थागत लगानीकर्ताले आवेदन दिइसकेका छन् । तिनीहरुले यो नियम लागूू भएसँगै आइपीओका लागि जम्मा गरेको पैसा सम्बन्ध आस्वा केन्द्र वा आवेदन केन्द्रबाटै फिर्ता पाउने समेत बताइएको छ । उसले आवेदन संकलकहरुलाई संस्थागत लगानीकर्ताबाट आवेदन स्वीकार नगर्न समेत सूचित गरेको छ । 

बिक्री प्रबन्धकले सर्वसाधारण लगानीकर्ताबाट छ्याङ्दीको आइपीओ ओभरसस्क्राइब्ड नभए मात्र संस्थागत लगानीकर्ताले आवेदनको अवसर पाउने पनि प्रष्ट्याएको छ । 

तर, यो नियम म्युुचुुअल फण्डहरुलाई भने लाग्ने छैन । कारण, उनीहरुका लागि संरक्षित छ्याङ्दीको २७ हजार कित्तामा आवेदन दिन पाउनेछन् । हाल देशमा १० म्युचुुअल फण्डहरु संचालनमा छन् । 

स्मरण रहोस्, सबै खालका आवेदकहरुबाट छ्याङ्दीको ५ करोड ४० लाख मूल्यको आइपीओमा तेश्रो दिनसम्म १ अर्ब ७८ करोड बढीको प्रस्ताव परिसकेको छ । आवेदन दिने संस्थागत लगानीकर्ताहरुको पैसा फिर्ता दिएर सर्वसाधारणको मात्र आवेदन राख्दा पनि आइपीओ यसअघि नै ओभरसस्क्राइब्ड भइसकेको बिक्री प्रबन्धकले बताएको छ । यसको अर्थ, अब संस्थागत लगानीकर्ताले छ्याङ्दीको आइपीओ भर्ने बाटो पूर्ण रुपमा बन्द भएको छ ।