काठमाण्डौ । विश्वकै प्रतिष्ठित ईकमर्स कम्पनी अमेजनका कर्मचारी अब साना–साना झरनाको साथमा ढुंगाले बनेका चिटिक्क बाटो(पद्चाप)हरु पछ्याउँदै यस्तो अफिसमा आफ्नो कदम राख्नेछन्, जसले उनीहरुलाई कुनै सानोतिनो जंगलभित्र छिरेको भान पर्नेछ । दक्षिणी अमेरिकाको सिएटलमा बनेको अमेजनको नयाँ अफिस प्रकृतिसँग यति धेरै नजिक छ, जति एउटा जंगलमा हुन्छ । 

समाचार एजेन्सीहरुका अनुसार यो अफिस सोमबारदेखि खुल्न गइरहेको छ । यहाँ चारैतर्फ हरियाली देख्न र बगिरहेको पानीको कञ्चन आवाज सुन्न सकिन्छ । अफिसभित्र एक खास प्रकारको वन बनाइएको छ, जहाँ ४ हजार भन्दा बढी रुखबिरुवा लगाइएको छ । यसको नाम ‘स्फेरिकल क्याम्पस’ राखिएको छ । यसमा सबै आधुनिक सुविधाहरुलाई प्रकृतिसँग जोडेर राखिएको छ । यो अफिसको कुल लागत ४ अर्ब डलर रहेको छ । 

८०० कर्मचारी अट्नसक्ने
यो विशाल परियोजनामा तीनवटा गोलो आकारको भवन छन् । यसमध्ये सबैभन्दा अग्लो ९० फूट उचाईको भवन रहेको छ र यसको चौडाई १३० फुट रहेको छ । यहाँ ८०० कर्मचारीले आरामसँग बसेर काम गर्नसक्ने व्यवस्था गरिएको छ । यी तीनवटै भवन करिब २६०० ग्लास प्यानल(सिसाको प्यानल)बाट बनाइएको हो ।

विशेष सिसाको प्रयोग
यहाँ प्रयोग भएका सिसा विशेष खालका छन् । यी सिसाबाट भित्र राखिएका रुखबिरुवालाई सजिलैसँग घामको उज्यालो प्राप्त हुन्छ । यस्तै, यो सिसाले अनावश्यक तापमानलाई बाहिरबाटै फिर्ता गरिदिनसक्छ । अमेजनले प्राकृतिक र यस्तो मनोरम अफिसमा बसेर कर्मचारीले पहिलाभन्दा राम्रो गर्न सक्ने र आफूलाई कम तनावमा पाउने विश्वास लिएको छ ।

१७ हजार किलोको रुख
अमेजनले यो अफिसको माध्यमबाट आफूलाई पुनः इनोभेटिभ भएको ब्राण्ड इमेज फिर्ता गर्न चाहन्छ । यहाँ ५५ फूट अग्लो फाइकसको विशाल रुख समेत ल्याइएको छ, जुन् रुख सन् १९६९  मा क्यालिफोर्नियामा लगाइएको थियो । करिब १७ हजार किलोग्राम  वजन रहेको यो रुखलाई क्रेनको माध्यमबाट उठाइएको थियो भने छतमा ठूलो प्वाल पारी त्यहाँबाट यसलाई यो विशाल भवनभित्र प्रवेश गराइएको थियो ।

जंगलको अनुभव
आम रुपमा कार्यालयको हावामा आद्रताको मात्रा ३० प्रतिशत हुन्छ, तर अमेजनको यो अफिसमा बहने हावाको आद्रताको मात्रा ६० प्रतिशत रहेको छ । यसको मुख्य कारण भनेको यहाँभित्रको रुखबिरुवा तथा झरना नै हुन् । बनस्पति विज्ञलाई राखेर तथा उनीहरुको सल्लाहअनुसार अफिसलाई यति प्राकृतिक बनाइएको हो । यहाँ बाहिरको हावा पनि आउँछ र भित्रको तापक्रममा करिब ५ डिग्रीको सामान्य उतारचढाव मात्र हुन्छ ।

अमेजनको यो विशाल अफिसका अपत्यारिला तस्विर हेर्नुहोस्: