काठमाडौँ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा सहयोगी विकास बैकको नाफा मात्र नभर जगेडा कोषको रकम समेत कमी आएकौ छ । गत वर्ष २३ करोड ३८ लाख ४६ हजार जगेडामा रहेको बैंकको सो कोष यस वर्ष १८ करोड १८ लाखमा झरेको छ ।

यसैगरी बैकको खुद नाफामा समेत कमी आएको शुक्रबार प्रकाशित वित्तीय विवरणले देखाएको छ । गत वर्ष ९ करोड २९ लाख ८० हजार खुद आम्दानी गरेको बैंकले यस वर्षको पहिलो नौ महिनाको अवधिसम्ममा ७ करोड ६३ लाख ६६ हजार रुपैयाँ मात्र आर्जन गर्न सकेको छ । यो गत वर्षको भन्दा १७ दशमलव ८६ प्रतिशत कम हो । 

बैंकको चुक्ता पूँजी भने वृद्धि भएको छ । गत वर्ष ३१ करोड ४६ लाख चुक्ता पूँजी भएको बैंकको चुक्ता पूँजी यस वर्ष ५० करोड ९६ लाख पुगेको छ । 

गत वर्ष २ अर्ब ८८ करोड कर्जा प्रवाह गरेको बैंकले यस वर्ष २ अर्ब ९४  करोड रुपैयाँ कर्जा प्रवाह गरेको देखिएको छ । 

पूँजी वृद्धिका कारण बैंकको प्रतिशेयर आम्दानी भने खस्केको छ । बैंकको प्रतिशेयर आम्दानी १९ दशमलव ९८ रुपैयाँ कायम भएको छ । यसैगरी बैंकको प्रतिशेयर नेटवर्थ १ सय ३५ दशमलव ७६ रपैयाँ कायम भएको छ । 

यसैगरी बैकमा खराब कर्जा अुनपातसमेत वृद्धि भएको देखिएको छ । गत वर्ष शून्य दशमलव ५६ प्रतिशत खराब कर्जा भएको बैंकमा यस वर्ष सो अनुपात वद्धि भई  १ दशमलव ३२ प्रतिशतमा चढेको छ ।