काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले आफ्नो नवौँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ। 

संस्थाको हिजो मंगलबार बसेको सञ्चालक समितिको बैठकले सभा यही चैत्र २७ गते बिहीबार रुपन्देहीको बुटवल कालिकापथस्थित होटल न्यू इरामा गर्ने निर्णय गरेको छ। सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव लाभांश, हकप्रद जारी गर्ने प्रस्ताव र अन्य उपयुक्त वित्तीय संस्थासँगको प्रक्रियामा जाने प्रस्ताव पारित हुनेछन्। 

सभामा गत आर्थिक वर्षको असार मसान्तमा कायम रहेको चुक्ता पुँजी ३ करोड ४५ लाख ६० हजारको ४५.८३ प्रतिशतले हुने रकम १ करोड ५८ लाख ४० हजारबराबरको बोनस सेयर हकप्रद सेयर सूचीकृत भएपछि हाल कायम रहेको चुक्तापुँजी ६ करोड ३३ लाख ६० हजार रुपैयाँको २५ प्रतिशत दरले जारी गर्ने प्रस्ताव स्वीकृत हुनेछ। बोनस सेयर कर प्रयोजनार्थ प्रस्तावित १.३२ प्रतिशत नगद लाभांश स्वीकृत हुनेछ। 

सभामा संस्थाको अधिकृत पुँजी १० करोड रुपैयाँबाट वृद्धि गरी ५० करोड रुपैयाँ पुर्याउने प्रस्ताव पनि पारित हुनेछ। त्यस्तै बोनस सेयर वितरणपछि कायम हुन आउने चुक्तपुँजी ७ करोड १२ लाख रुपैयाँको १ः२ अनुपात (अर्थात १ कित्ता सेयरबराबर २ कित्ता) मा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

सभामा अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जाने सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव अनुमोदन हुनेछ। 

वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि संस्थाले चैत १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। संस्थाको लाभांश प्राप्ति र सभामा भाग लिन योग्य हुन चैत १३ गतेसम्म सेयरधनी कायम भइसकेको हुनुपर्नेछ।