काठमाण्डौ । आर्थिक वर्ष २०७५/७६ को प्रस्तावित लाभांश पारित गर्दै जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको नवौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। 

रुपन्देहीको बुटवलस्थित होटल न्यु इरामा शनिबार सम्पन्न सभाले चुक्तापुँजी ६ करोड ३३ लाख ६० हजार रुपैयाँको २५ प्रतिशतका दरले हुन आउने बोनस सेयर जारी गर्ने र १.३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव पारित गरेको हो। 

बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजी ७ करोड ९२ लाख रुपैयाँको १ः२ (अर्थात १ कित्ताबराबर २ कित्ता) को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ। 

यसैबीच सोही सभामार्फत संस्थाले एसएमएस अलर्ट सिस्टम शुभारम्भ गरेको छ। यो प्रणालीमार्फत संस्थामा आबद्ध समूह सदस्यहरुसँगको आर्थिक कारोबारलाई पारदर्शी बनाउन, समूह सदस्यहरुलाई कारोबारको जानकारी गराउन र वित्तीय साक्षरता कार्यक्रमलाई अभियानकै रुपमा अगाडि बढाउन थप टेवा संस्थाले विश्वास लिएको छ।