काठमाण्डौ । सरकारले ‘उज्यालो नेपाल अभियान’ अन्तर्गत निर्माणको घोषणा गरिएको १९ वटा जलविद्युत आयोजनामा चुक्तामूल्यको १० प्रतिशत रकम दाखिला गर्न सक्नेले पनि आइपीओ भर्न पाउने भएका छन् ।

धितोपत्र बोर्डले सरकारको ५१ प्रतिशत लगानी र सर्वसाधारण जनताका लागि व्यवस्था गरिएको ४९ प्रतिशत स्वपूँजी संकलनका लागि गरिने सेयरको निश्कासन तथा बाँडफाँडलाई व्यवस्थित गर्न  धितोपत्र दर्ता तथा निश्कासन नियमावली, २०७३ मा दोश्रो संसोधन गरी यस्तो व्यवस्था गरेको हो ।

जनताको जलविद्युत कार्यक्रम अन्तर्गतका जलविद्युत कम्पनीले शेयरको सार्वजनिक निष्काशन गर्दा त्यस्तो शेयर खरिद गर्न चाहने आवेदकले आवेदन साथ शेयरको चुक्तामूल्यको दश प्रतिशत रकम दाखिल गर्नुपर्ने गरी आवेदन माग गर्न सक्ने सुविधा हुनेछ ।

त्यसरी आवेदन गर्ने आवेदकलाई शेयर बाँडफाँट हुने भएमा कम्पनीको दश प्रतिशत चुक्ता भएको शेयर प्रदान गरिने र उक्त शेयरधनीलाई कम्पनीले नेपाल सरकारले निर्धारित गरेको बार्षिक प्रतिफल प्रदान गर्न सक्नेछ भने यस्तो प्रतिफल शेयरको चुक्ता हुन बाँकी रकममा मिलान गर्न सकिने व्यवस्था समेत गरिएको बोर्डले जनाएको छ ।

नेपाल सरकारको कम्तीमा एकाउन्न प्रतिशत शेयर स्वामित्व भएको जलविद्युत कम्पनीले आयोजनाको विस्तृत डिजाइन प्रतिवेदन वा आयोजनाको कुल लागत अनुमान र निर्माण अवधि खुलाई तयार गरिएको आधिकारिक विवरण तयार भई संस्थापकहरुले लिन कबूल गरेको शेयर रकमको कम्तीमा दश प्रतिशत चुक्ता भइसकेको र आयोजना निर्माणका लागि फाइनान्सियल क्लोजर भइसकेको वा सोको लागि आशयपत्र प्राप्त भएको अवस्थामा नेपाल सरकारबाट स्वीकृत कार्यक्रम बमोजिम सर्वसाधारणबाट पूँजी संकलन गरी जलविद्युत अयोजना निर्माण गर्न शेयर तथा डिबेञ्चर निष्काशन गर्नसक्ने बोर्डले व्यवस्था गरेको हो ।

यसैगरी, यस्ता आयोजनाका संस्थापकहरुले लिन कबूल गरेको शेयरको शतप्रतिशत रकम भुक्तानी भई आयोजनाको निर्माणको न्यूनतम पचास प्रतिशत भौतिक प्रगति भएपछि कम्पनीले शेयरधनीसँग चुक्ता हुन बाँकी रकम माग गर्न सक्ने र रकम प्राप्त भएपछि निष्काशित शेयरको चुक्ता रकम शतप्रतिशत गरी सम्बन्धित शेयरधनीलाई शेयर जारी गरिने व्यवस्था गरिएको छ ।

शेयरको रकम शतप्रतिशत चुक्ता भए पश्चात त्यस्तो शेयर धितोपत्रको दोश्रो बजारमा कारोबार हुन सक्ने व्यवस्था समेत गरिएको छ ।

शेयरको चुक्ता हुन बाँकी सम्पूर्ण रकम प्राप्त नभएमा कम्पनीले त्यसरी चुक्ता हुन बाँकी रकम बराबरको शेयर अन्य इच्छुक खरिदकर्तालाई एक महिनाको समय अवधि दिई सार्वजनिक सूचना जारी गरी बिक्री गर्न सक्ने छ । तर सो सम्पूर्ण शेयर बिक्री हुन नसकेमा बिक्री हुन बाँकी रहेको शेयर संस्थापक शेयरधनी वा नेपाल सरकारको नाममा रहने गरी आवश्यक व्यवस्था गरिएको बोर्डका कार्यकारी निर्देशक परिष्ठनाथ पौड्यालले जनाएका छन् ।