काठमाण्डौ । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गतको पहिलो आयोजनाको सेयर किन्न मागभन्दा १९ गुणा बढी आवेदन परेको छ । 

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार त्रिशूली गङ्गा जलविद्युत् कम्पनीको शेयरमा रु ६६ करोड ९० लाख ९९ हजार २०० बराबरको आवेदन परेको हो । 

शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालका अनुसार यो तथ्याङ्क सोमबार साँझ ५ बजेसम्मको हो । 

बैंक तथा वित्तीय संस्थाले केही शेयर आवेदन प्रविष्ट गर्न बाँकी रहेका कारण केही विवरण थप हुन सक्नेछ । 

कूल एकलाख ५६ हजार ७११ आवेदकले छ करोड ६९ लाख ९ हजार ९२० कित्ता खरीदका लागि आवेदन दिएका छन् । 

कूल रकमका आधारमा करीब दुई गुणा बढी र आवेदन भएको शेयर सङ्ख्याका आधारमा भने करीब १९ गुणा आवेदन परेको देखिएको हो । यो हिसाबले हेर्दा पनि कम्पनीको आइपीओ खरीदका लागि आवेदन दिने प्रत्येक आवेदकलाई २० कित्ता भन्दा बढीको दरले सेयर पर्ने देखिएको छ । 

यो कम्पनीले चैत ७ देखि ११ गतेसम्म कुल निश्कासित ३७ लाख ५ हजार कित्तामध्ये ३ प्रतिशतले हुन आउने १ लाख ११ हजार १५० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याएको छ । र, बाँकी रहेको ३५ लाख ९३ हजार ८५० कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ ।

हाललाई दरखास्तका साथ प्रतिसेयर रु.१० को दरले (अंकित मूल्यको दश प्रतिशत)ले हुने रकम भुक्तानीका लागि अग्रिम माग गरिएको छ । यसको अर्थ प्रतिसेयरका लागि रु. १० रुपैयाँ बैना गरी प्रतिकित्ता १०० रुपैयाँको सेयर बुक गर्न सकिन्छ । 

ती सेयर बापत चुक्ता हुन बाँकी रकम आयोजनाको निर्माण कार्य ५० प्रतिशत पूरा भएपछि माग गरिनेछ ।

इच्छुकले न्यूनतम १०० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिनसक्ने व्यवस्था गरिएको छ । यसको अर्थ साथमा रु। एकहजार रुपैयाँ हुनेले समेत १०० कित्ता सेयरका लागि बैना गर्न सक्नेछन् । 

यो कम्पनीको आइपीओमा प्रधानमन्त्री ओलीले १० हजार कित्ता, उनकी पत्नी राधिका शाक्यले १० हजार कित्ता, उर्जामन्त्री वर्षमान पुनले १ हजार कित्ता, उनकी पत्नी ओनसरी घर्तिले २ हजार कित्ता खरीदका लागि आवेदन दिएका थिए । 

यो कम्पनीले नुवाकोट तथा रसुवा जिल्लामा रहेको ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्रि वि हाइड्रो प्रोजेक्ट निर्माण गरिरहेको छ।