- भक्तराज रसाइली

बारा (अमलेखगन्ज) । निर्माण सम्झौता भएको डेढ दशकपछि बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको मंगलबार विधिवत् रुपमा उद्घाटन भई इन्धन आउन थालेको छ ।

डेढ दशकअघि सम्झौता भएको परियोजना विविध कारणले एक दशकभन्दा बढी समय रोकिएर रहेको थियो। तर २०७३ चैत अन्तिमबाट निर्माण सुरु भएको साढे २ वर्षको अवधि काम सम्पन्न भयो । भारतको मोतिहारीबाट अमलेखगन्जसम्म बिछ्याइएको पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा आ–आफ्नो मुलुकबाट ‘स्विच’ थिचेर उद्घाटन गरे । उद्घाटनसँगै हिजैबाट इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ पनि घटाइएको छ ।

यो पाइपलाइन दक्षिण एशियाकै पहिलो ‘क्रस बोर्डर’ परियोजना हो। पहिलो चरणमा पाइप लाइनबाट डिजेल ल्याइनेछ। त्यसपछि क्रमशः पेट्रोल र मट्टितेल ल्याइनेछ।

पाइप लाइनको दूरी ६९.२ किलोमिटर रहेको छ। जसमा नेपालतर्फ ३६.२ र भारततर्फ ३३ किलोमिटर रहेको छ।

पाइप लाइनबाट दैनिक झण्डै चार हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने परियोजनाले जनाएको छ। परियोजनाबाट पेट्रोलियम पदार्थ भित्रन थालेपछि वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुनेछ।

परियोजनाको लागत दुई अर्ब ७५ करोड भारतीय रुपैयाँ रहेको छ ।

यो परियोजनाबारे बिजशाला सरकारी निकायदेखि आमउपभोक्तासम्म जिज्ञासा राखेको थियो । के भन्छन् छ उनीहरु ? जस्ताको त्यस्तै –

फणीन्द्रमणि पोख्रेल, सीडीइओ, बारा

पाइपलाइनका कारण ढुवानी लागत र ट्राफिकजाम कम हुने अनि पेट्रोलियम पदार्थको गुणस्तरमा कमी नआउने फाइदा छ । यसले वातावरणीय अनुकूलताका हिसाबले समेत फाइदा हुन्छ । म पनि उपभोक्ता भएका कारण लागत कम र गुणस्तरीयतामा ढुक्क हुने वातावरण बन्दछ ।

कृष्ण पौडेल, उपमेयर, जितपुर सिमरा उपमहानगरपालिका, बारा

राष्ट्रिय समृद्धि र स्थानीय निकायको अर्थतन्त्र सुदृढ हुनका लागि पाइपलाइनको महत्वपूर्ण भूमिका रहन्छ । ढुवानी खर्च कम भएपछि उद्घाटनकै दिनबाट २ रुपैयाँ सस्तोमा उपभोग गर्न पाउदा उपभोक्तालाई लाभ भयो । ट्राफिक जामको समस्याको समाधान त भयो नै कम समयमा राष्ट्रिय गौरवको आयोजना समाप्तिले हामी सबै खुशी छौं । अमलेखगन्जवासीको सपना त पूरा भए नै स्थानीय तहमा समृद्धिको बिम्बका रूपमा समेत हामीले यसलाई लिएका छौं ।

राजु दाहाल, इकाइ कमिटी सचिव, नेपाल ट्यांकर चालक संघ

यो ऐतिहासिक दिन हो । जुन सोझै रूपमा भन्नुपर्दा हामीले नसोचेको सपना पूरा भएको छ । हामीलाई यी सुवर्ण अवसर पनि हो । भारतमा ट्यांकर चालक पीडित हुने वातावरणको अन्तसँगै भारतको थिचोमिचो सदाका लागि समाधान भएको मेरो बुझाइ छ ।

सुनिल साह, स्थानीय, अमलेखगन्ज

धेरै राम्रो भयो । हामी खुशी छौं । भारत नेपाल सम्बन्धमा न्यानोपन त ल्याउँछ नै ढुवानी खर्च कटौतीले राज्यलाई फाइदा हुनेमा म ढुक्क छु। उद्घाटनकै दिन इन्धनको मूल्य घटाइएको छ । आगामी दिनमा समेत अझै सस्तोमा उपभोग गर्न पाइएला ।

विजय साह, स्थानीय, अमलेखगन्ज

एकदमै राम्रो र आजको दिन ऐतिहासिक दिन हो । हामी स्थानीयबासी सबै खुशी छौं । राज्यलाई फाइदा हुने र स्थानीयबासीलाई रोजगारी सिर्जना भएकोले आयआर्जनको बाटो खुल्यो । म प्रबल खुशी छु ।