काठमाण्डौ । जनता अवकाश कोषको भदौ ३१ गते बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष २०७४/७५ को वासलात, नाफा–नोक्सान हिसाव, नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु तथा अन्य सम्पूर्ण वित्तीय विवरणहरु स्वीकृत गरेको छ ।

कोषले आर्थिक बर्ष २०७४/७५ मुनाफाबाट कोषमा सहभागी बचतकर्ता/संचयकर्ताहरुलाई निजहरुको २०७५ असार मसान्तसम्म कायम रहेको बचत मौज्दातको १ प्रतिशतका दरले मुनाफा वितरण गर्ने निणर्य गरेको छ । सो बराबरको रकम सहभागीहरुको सम्बन्धित खातामा २०७५ आश्विन १ गते जम्मा गरेको छ । 

आयकर ऐन, २०५८ बमोजिम आन्तरिक राजश्व विभागबाट स्वीकृत प्राप्त अवकाश कोषको रुपमा स्वीकृति प्राप्त गरी बि.सं. २०६० सालमा सिद्धार्थ अवकाश कोषको नाममा स्थापना भई सेवा प्रदान गर्दै आइरहेकोमा २०७५ असार १ गतेबाट कोषको नाम परिर्वतन भई जनता अवकाश कोषको नाममा संचालनमा रहेको छ । कोषले हाल ४५० वटा संगठित संस्थाका १२ हजारभन्दा बढी सहभागीहरुलाई सेवा प्रदान गर्दै आएको छ । 

जनता अवकाशकोषले कर्मचारीको सञ्चयकोष, अवकाशकोष, उपदानकोष, सञ्चित विदाकोष, कर्मचारी कल्याण कोष र पब्लिक प्रोभिडेण्ड फण्ड अवकाश योजनामार्फत बिभिन्न बैंक, वित्तीय संस्था, अन्य संगठित संघसंस्था, प्रतिष्ठान, विद्यालय, उद्योग र करयोग्य आय भएका परामर्शदाता, चिकित्सक, इञ्जिनियर, कानून व्यवसायीहरुलाई सेवा प्रदान गरिरहेको छ । 

कोषले संचालन गरेका अवकाश योजनाहरुमा बार्षिक ८.५० प्रतिशतका दरले व्याज प्रदान गर्नुका साथै सञ्चित रकमको ९० प्रतिशत सापटी लिन सक्ने व्यवस्था रहेको छ । कोषले सहभागीहरुलाई सुत्केरी स्यहार खर्च रु. १०,०००। र काज क्रिया खर्च रु. १०,०००। को व्यवस्था गरेको छ ।

जनता अवकाश कोषका सहभागीहरुले जनता बैंक नेपाल लिमिटेडका नेपालभर रहेका सम्पूर्ण शाखाहरुमार्फत कोषको सेवा प्राप्त गर्न सक्नेछन् ।