काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा बीमाशुल्कबापत २० करोड ९६ लाख रुपैयाँ आर्जन गरेको छ। 

चौथो त्रैमास वित्तीय विवरणअनुसार बीमाशुल्कबापतको आर्जन कम्पनीले २७.३३ प्रतिशतले बढाएको हो। अघिल्लो वर्ष यस्तो आर्जन १६ करोड ४६ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा कम्पनीको दाबीभुक्तानी भने २४०.२६ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष २ करोड २६ लाख रुपैयाँ दाबीभुक्तानी गरेको कम्पनीले यो अवधिमा ७ करोड ६९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। बीमाशुल्क आर्जनको तुलनामा दाबीभुक्तानीको गतिमा तीव्रता देखिएकोले यो कम्पनीले गुणस्तरीय बिजनेस गर्न नसकेको देखिने विश्लेषकहरु बताउँछन्। 

समीक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च ४८.०९ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ९ करोड ४४ लाख रुपैयाँ रहेको व्यवस्थापन खर्च बढेर समीक्षा अवधिमा १३ करोड ९८ लाख रुपैयाँ पुगेको छ। 

कम्पनीको बीमा कोषको आकार भने ७८.३२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष २ करोड ४६ लाख रुपैयाँमा सीमित बीमा कोषको आकार कम्पनीले बढाएर समीक्षा अवधिमा ५ करोड १० लाख रुपैयाँको उचाइमा पुर्याएको छ। जगेडा तथा कोषको आकार २ करोड ५७ लाख रुपैयाँबाट बढेर ४ करोड ६६ लाख रुपैयाँको भएको छ। 

समीक्षा अवधिका कम्पनीले खुद नाफा ३९.७७ प्रतिशतले बढाउन सफल भएको छ। समीक्षा अवधिमा कम्पनीले ५ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष खुद नाफा ३ करोड ६२ लाख रुपैयाँमा सीमित थियो। 

कम्पनीको पुनर्बीमा कमिसनबाट हुने आय ७ करोड ५४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यस्तो आय ४ करोड ७४ लाख रुपैयाँमा सीमित थियो। 

कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आय घटेको छ। अघिल्लो वर्ष ३ करोड ४४ लाख रुपैयाँ रहेको यो आय घटेर १ करोड ८० लाख रुपैयाँमा सीमित बनेको छ। 

अघिल्लो आर्थिक वर्ष ३१ हजार २१७ वटा बीमालेख जारी गरेको यो कम्पनीले समीक्षा अवधिको वर्षमा ५७ हजार ८०३ वटा बीमालेख जारी गर्न सकेको देखिन्छ। 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ७.२३ रुपैयाँ रहेको छ। प्रतिसेयर नेटवर्थ ११४.६८ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर कुल सम्पत्तिको मूल्य १५४.५८ रुपैयाँ रहेको छ।