►प्रकाश बञ्जारा
युएई । केही समयअघि मात्र अल्कोहल र पेयपदार्थमा कर लगाएको युएइ सरकारले आगामी जनवरी १ बाट लागू हुने गरी उत्पादन तथा सेवामा करको घोषणा गरेसँगैँ यहाँ रहेका नेपाली समुदायको ढाड सेकिने भएको छ । 

तीन महिनाअघि अर्थात अक्टोबर १ तारिखबाट अल्कोहलिक पेय पदार्थमा सय प्रतिशत र इनर्जिक पेय पदार्थमा ५० प्रतिशत कर लगाएको यहाँको सरकारले जनवरीबाट लागू हुनेगरी उत्पादन र सेवा क्षेत्रमा ५ प्रतिशत कर घोषणा गरेको छ ।

अरब मुलुकहरुमा कर प्रणाली सुरु गर्ने अर्को देश साउदी अरब हो । यी दुवै देशले आगामी जनवरी १ बाट नयाँ कर प्रणाली लागू गर्दैछन् ।

वैदेशिक रोजगारीका लागि नेपालीहरुको मुख्य गन्तव्यको रुपमा रहेका यी दुवै देशमा शुरु भएको कर प्रणालीले लाखौं प्रवासी नेपालीलाई प्रभावित पार्नेछ । यससँगै दैनिक उपभोग्य सामानको मूल्यमा भारि  वृदि हुनेछ भने बिलासिताका सामानहरुको खरीदारी महङ्गिने बताइएको छ । 

युएइमा रहेका सम्पूर्ण व्यापारीहरुलाई प्रत्यक्ष रुपमा असर पर्ने देखिए पनि केहि क्षेत्र भने अझै करको दायरामा नआउने यहाँको फेडेरल ट्याक्स अथोरिटिले जानकारी दिएको छ । 

पर्यटन र तेल, ग्यास आयको प्रमुख स्रोतको रुपमा रहँदै आएको अरबका देशहरुमा पछिल्लो समयमा आउने विदशी पर्यटकको संख्यामा भारी गिरावट आएको र तेलको मूल्यमा समेत लामो समयदेखि आएको गिरावटबाट अर्थतन्त्र प्रभावित भएपछि देशको राजश्वलाई मजबुत बनाइराख्न नयाँ बाहानामा कर थोपर्न लागिएको हो । 

यसअघि खाडीका कुनै पनि देशमा यस्तो कर प्रणाली सुरु गरिएको थिएन । पछिल्लो समयमा मध्यपूूर्वमा भएको वाकयुद, कतारसँग अन्य अरब मुलुकहरुले गरेको नाकाबन्दी तथा इस्लामिक स्टेट जस्ता आतंकवादी संगठनहरुको डरका कारण युरोप, अमेरिका, रसिया जस्ता देशहरुबाट आउने पर्यटकको संख्या ह्वात्तै घटेको छ । 

गत साल मात्र सिया र सुन्नी समुदायको साउदी अरब र इरानबीच भएको विवादको बेला युएइले साउदीको समर्थन गर्दै इरानसँगको हवाईलगायतका सेवा बन्द गरेसँगै बिलासिताका लागि घुमघाम र रमाइलोका लागि युएइ आउने इरानी पर्यटकको संख्यामा उस्तै गिरावट आएको अधिकारीहरुले बताएका छन् । 

यी सबै कारण पर्यटकको आगमनमा गिरावट आएको र आफूसँग भएको तेलको भण्डारण रित्तिँदै गरेको, साथै भएको तेलले समेत राम्रो बजार नपाएपछि सरकार वैकल्पिक स्रोतका लागि करमा केन्द्रीत भएको विज्ञहरु बताउँछन् ।

कर प्रणालीबाट बजारमा पर्ने प्रमुख असर भनेको मूूल्यवृदि नै हो । धेरैको जिज्ञासाको क्षेत्र बनेको रोजगारदाताले दिने रोजगारीबापत दिने तलबमा भने कुनै प्रकारको कर लाग्नेछैन । 

यहाँ बुझ्नुपर्ने कुरा के छ भने घोषित कर प्रणालीमा आयकर समावेश गरिएको छैन । तर, व्यापार गरिरहेका प्रवासीहरु अनिवार्य रुपमा करको दायरामा आउनुपर्नेछ । जसमा साना किराना पसलदेखि ठूूला कम्पनीहरुले मापदण्डअनुसार प्रणालीमा समावेश भएर सेवा र उत्पादनको कर सरकारलाई बुझाउनुपर्ने फेडेरल ट्याक्स अथोरिटिले बताएको छ । 

अथोरिटिले सार्वजनिक गरेको सूूचिअनुसार रियलस्टेट, यातायात, शिक्षा लगायतका केही क्षेत्रहरु करको दायराभित्र पर्दैनन् । तर, स्कूूल युनिफर्म, कमर्सियल प्रयोजनको लागि बनाइएको भवनहरुले भने कर तिर्नुपर्नेछ ।