काठमाण्डौ । जनसेवी लघुवित्त र स्वाभिमान माइक्रोफाइनान्सले शुक्रबार(आज)देखि आइपीओ निश्कासन गरेका छन् । 

जनसेवीले ४ करोड ६३ लाख र स्वाभिमान माइक्रोफाइनान्सले १ करोड ९८ लाख रुपैयाँ बराबरको आइपीओ निश्कासन गरेका हुन् ।

जनसेवीको रु. १०० अंकित दरका कुल ४ लाख ६३ हजार कित्ता आइपीओ खरीदका लागि छिटोमा बैशाख ३१ गतेभित्र र सो अवधिसम्म बिक्री नभए ढिलोमा जेठ २६ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । 

कम्पनीको आइपीओमा न्यूनतम १० देखि अधिकतम १००० कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । 

माइक्रोफाइनान्स कम्पनीको आइपीओमा अचाक्ली आवेदन पर्ने भएकोले १० कित्ताका लागि आवेदन दिनु नै बुद्धिमानी हुन्छ । 

कम्पनीले निश्कासन गर्ने कुल आइपीओमध्ये ७ हजार १४५ कित्ता सो कम्पनीका कर्मचारीका लागि, २३ हजार १६५ कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी रहेको ४ लाख ३२ हजार ९९० सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । 

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमीटेड रहेको छ । 

पर्वतमा मुख्य कार्यालय रहेको यो लघुवित्त कम्पनीको जारी पूँजी १४ करोड ४३ लाख रुपैयाँ रहेको छ । जसमध्ये ९ करोड ८० लाख संस्थापकले हालेका छन् भने आइपीओमार्फत ४ करोड ६३ लाख उठाउने योजना छ, जुन सर्वसाधारण सेयरको रुपमा रहनेछ ।

आइपीओपछि कम्पनीको चुक्तापूँजी १४ करोड ४३ लाखको उचाईमा पुग्नेछ।

यो माइक्रोफाइनान्स कम्पनीले २१ वटा शाखा बिस्तार गरी पर्वत, बाग्लुङ, म्याग्दी, रुकुम, रोल्पा लगायतका १० जिल्लामा बित्तीय सेवा प्रवाह गरिरहेको छ । 

इक्रा नेपालले यो कम्पनीको आइपीओलाई आइपीओ ग्रेड फोरको रेटिंग दिएको छ, जसको अर्थ औसत भन्दा कमजोर छ भन्ने हो । 

यसैगरी, स्वाभिमान माइक्रोफाइनान्सले कुल १ लाख ९८ हजार ६१० कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गरेको हो । 

आइपीओमा छिटोमा बैशाख ३१ गतेभित्र र ढिलोमा जेठ २६ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । 

कुल निश्कासन हुने कित्तामध्ये ३ हजार ९३ कित्ता सो कम्पनीका कर्मचारीका लागि, ९ हजार ९३० म्युचुअल फण्डहरुका लागि र बाँकी रहेको १ लाख ८५ हजार ५८७ कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । 

यो कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल मार्केट लिमीटेडले गर्नेछ ।

हाल यो कम्पनीको चुक्तापूँजी ४ करोड २० लाख रुपैयाँ रहेको छ ।

आइपीओपछि कम्पनीको चुक्तापूँजी ६ करोड १८ लाखको उचाईमा पुग्नेछ।

यो माइक्रोफाइनान्सको मुख्य कार्यालय रुपन्देहीको तिलोत्तमा ६, मणिग्राममा रहेको छ ।