काठमाण्डौ । स्याङ्जाको वालिङमा प्रधान कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था र पर्वतको कुश्मामा प्रधान कार्यालय रहेको जनसेवी लघुवित्त वित्तीय संस्थाको एकिकृत कारोवार बुधवारबाट शुभारम्भ भएको छ । 

यी दुई संस्थाको सफल मर्जरसँगै नेपालको बित्तीय क्षेत्रबाट जनसेवी लघुवित्तको अस्तित्व समाप्त भएको छ । 

नेपाल राष्ट्र बैंकबाट एकिकृत कारोवारको अन्तिम स्वीकृती पश्चात वालिङ–८, स्याङ्जा स्थित कालिका लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालयबाट एकिकृत कारोवारको शुरुवात भएको हो । 

राष्ट्रिय स्तरको कालिका लघुवित्त वित्तीय संस्था लिमीटेडसंग जनसेवी लघुवित्त वित्तीय संस्था लिमीटेड गाभिएपश्चात कायम रहेको संस्थाको नयाँसञ्चालक समितिका अध्यक्ष विकास गौचनको अध्यक्षता राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द पौडेलको प्रमुख आतिथ्यता र पुर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीको विशेष आतिथ्यतामा एकिकृत कारोवार शुभारम्भ समारोह सम्पन्न भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले बताए ।

मर्जर पश्चात बनेको संस्थाको चुक्तापुँजी रु. २५ करोड २३ लाख ३० हजार र अधिकृत पुंजी ५० करोड रहेको छ ।

संस्थाले हाल २८ वटा जिल्लामा ९६ वटा शाखा संख्या सञ्जाल विस्तार सहित ५९ हजार सदस्यहरुलाई ३९२ जना कर्मचारीहरु मार्फत सेवा पुर्याइरहेको छ । 

मर्जर पश्चातको संस्थाले १ अर्ब ४७ लाख निक्षेप संकलन सहित सदस्यहरुलाई २ अर्ब ४५ करोड ५० लाख कर्जा सेवा दिइरहेको संस्थाका नायब कार्यकारी अधिकृत कमलबहादुर खत्रीले जानकारी दिए । 

संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव मिनबहादुर बोहराले चालु आर्थिक वर्षभित्रमा नै थप २० वटा नयाँ शाखाहरु विस्तार सहित शेयरधनीहरुलाई उत्कृष्ट प्रतिफल प्रदान गर्ने योजना रहेको बताए ।