काठमाण्डौ । आफ्नै कर्मचारीको हत्या अभियोगमा जन्मकैद पाएका ‘डोसा किङ’ को नामले विश्वविख्यात भारतीय पी राजगोपालको मृत्यु भएको छ । 

विश्वभरि शाखा रहेको भारतीय रेस्टुराँ कम्पनी सरवण भवनका मालिक पी राजगोपालको ७२ वर्षको उमेरमा हृदयाघातबाट मृत्यु भएको हो । सरवण भवन लोकप्रिय रेस्टुराँ हो। सरवण भवनका शाखाहरू न्यूयोर्क, लन्डन र सिड्नीलगायत विश्वभरि ८० वटा शाखाहरू छन् र त्यहाँ हजारौँ मानिसहरू काम गर्छन्।

आफ्नै एक कर्मचारीको हत्या गरेको आरोपमा राजगोपाललाई भारतको सर्वोच्च अदालतले आजीवन कारावासको सजाय सुनाएको थियो। राजगोपालले ती कर्मचारीको श्रीमती पाउन उनको हत्या गरेको अदालतको ठहर छ । 

गत जुलाई ९ मा उनले अदालतमा आत्मसमर्पण गरेका थिए। जेलमा उनको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई सरकारी अस्पतालमा भर्ना गरिएको थियो। त्यहीँ केही दिनअघि उनको उपचारका क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

राजगोपालका रेस्टुराँमा ब्रिक्री गरिने दक्षिण भारतीय परिकार डोसा लोकप्रिय बनेपछि उनलाई 'डोसा किङ' उपनाम दिइएको थियो। – एजेन्सी