काठमाण्डौ । मानिसलाई आवश्यक पर्ने नगद भनेको बेला निकाल्ने सहज माध्यमको रुपमा विश्वभर एटीएम सेवा लोकप्रिय छ । यही सेवाको सुरुवात भएको ५० वर्ष पुुग्न लागेको छ । लण्डनको वार्कलेज बैंकले सन् १९६७ जुन २७ को दिन विश्वकै पहिलो एटीएम स्थापना गरेको थियो । वर्तमान अवस्थामा एटीएम भन्दा पनि अगाडि बढेर डिजिटल फाइनान्सको कुरा गर्न थालिएको छ । एजेन्सीहरुको सहयोगमा हामीले एटीएमको बितेको ५० वर्ष र भविष्यको बिषयमा केही केलाउने प्रयास गरेका छौ । 

कसले गरेको थियो आविष्कार ?
ब्रिटेनका जोन सेफर्ड बेरनलाई एटीएम मेसिनको आविष्कारक मानिन्छ । उनको जन्म १९२५, जुन २३ मा भारतको मेघालयको सिलोङ पहाडमा भएको थियो । सेफर्ड नै एटीएम मेसिनका आविष्कारक हुन् भन्ने दाबीलाई कुनै बेला अन्यले समेत चुनौति दिन खोजेका थिए । तर, जे भए पनि बैंकसँग सम्बन्धित इञ्जिनियरहरुले समेत लामो समयदेखि यस्तो मेसिनको बारेमा सोचिरहेका थिए, जसले सहज ढंगले जुनसुकै बेला नगद दिन सकोस् । 

सुरुवातमा कसरी चल्थ्यो एटीएम ?
एटीएमको सुरुवाती अवस्थामा कार्ड प्रचलनमा थिएन । सो बेला मेसिनमा चेक हाल्नुुपथ्र्यो र त्यसपछि पिन नम्बर लगाउनुपथ्र्यो । त्यसपछि मेसिनले चेकको मिलान गथ्र्यो र आवश्यक क्यास दिन्थ्यो । धेरै वर्षपछि मात्र म्याग्नेटिक चिप भएको अहिलेको डेबिट र क्रेडिट कार्डले चेकको ठाउँ लियो र अहिले कार्डको माध्यमबाट निकै सहज ढंगले एटीएमबाट पैसा निकाल्ने काम संभव भयो। 

यसरी आयो एटीएमको आइडिया
पैसा निकाल्ने एटीएमको सुुरुवात भन्दा अगाडि स्ट्याम्प, न्यूजपेपर तथा क्याण्डीका लागि बेण्डिङ मेसिनको सुरुवात भइसकेको थियो । सन् १९६० मा लुुथर जर्ज सिमजियानले क्यास तथा चेक डिपोजिट गर्नका लागि बैंकोग्रेफ नामबाट एक मेसिन आविष्कार गरेका थिए । तर यो मेसिन धेरै दिनसम्म चलेन, तर यी सबै प्रयोगले पछि आएर एटीएमको आइडियालाई जन्म दिएको मानिन्छ । 

हालसम्मकै सबैभन्दा ठूलो एटीएम फ्रड
सन् २०१६ को मई महिनामा जापानमा चोरहरुको एउटा समूहले दक्षिण अफ्रिकाको स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट चोरेको क्रेडिट कार्डको डाटा प्रयोग गरी ३ घण्टाको अवधिमा १४ हजार एटीएमबाट १३ मिलियन डलर रकम निकालेको थियो । यो फ्रडमा अपराधीहरुको संख्या निकै ठूलो थियो । तुर्कीका नागरिक इरक्यान फिण्डिकोगलुले बैंकको सिस्टम ह्याक गरेका थिए र एटीएमको विदड्रल लिमिट समेत हटाइदिएका थिए । यति मात्र होइन, भारतमा समेत गत वर्ष ३२ लाख डेबिट कार्ड मालवेअर नामको भाइरसबाट प्रभावित भएको खबर सार्वजनिक भएको थियो । यही कारण पुराना कार्डहरुलाई तत्काल बन्द गरी ग्राहकलाई सुरक्षित नयाँ कार्ड वितरण गरिएको थियो । 

भविष्य के होला ?
सन् २०१० देखि २०१५ को अवधिमा विश्वभरमा एटीएम मेसिन लगाउनको विकास दर ९.९ प्रतिशत रह्यो । तर विज्ञहरुका अनुसार सन् २०१५ देखि २०२० को दौरान यो ग्रोथ घटेर ४ प्रतिशतमा आइपुुग्नेछ । यसको मुख्य कारण यो हो कि धेरै भन्दा धेरै व्यक्ति डिजिटल कारोबारको माध्यमतर्फ आकर्षित भइरहेका छन् । सन् २०११ देखि २०१५ को अवधिमा विश्वभर नगदरहित कारोबारमा ५२ प्रतिशतको वृद्धि भएको थियो, जब कि एटीएमबाट नगद निकासीमा ३३ प्रतिशतको मात्र वृद्धि भएको थियो । यसले एटीएमको भविष्य क्रमशः धुमिल बन्दै गएको र मानिस डिजिटल कारोबारतर्फ बढी केन्द्रीत हुँदै गएका देखिएको छ ।