काठमाण्डौ । हालसम्मको कान्छो माइक्रो फाइनान्सको रुपमा गणपति माइक्रो फाइनान्सको जन्म भएको छ । राष्ट्रिय स्तरको यो लघुवित्त संस्थाले शुक्रबारबाट औपचारिक कारोबार थालेको हो ।  

नेपाल राष्ट्रबैंकबाट कात्तिक ३० गते ‘घ’ वर्गको राष्ट्रिय स्तरको लघुवित्त बित्तीय संस्थाको रुपमा इजाजत पाएको गणपति माइक्रो फाइनान्सको तनहुँस्थित शुक्लागण्डकी नगरपालिका वडानम्बर ३ मा स्थापना गरिएको केन्द्रीय कार्यालयको उद्घाटनसँगै कारोबारको विधिवत शुभारम्भ शुक्रबार एक समारोहका बीच नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले गरे । 

सो अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत अच्युतराज सापकोटा, संस्थाका अध्यक्ष युवराज भण्डारी लगायतले बोलेका थिए । उनीहरुले लक्षित वर्गसम्म पुुगी स्तरीय सेवा प्रदान गर्न वित्तीय संस्था कटिवद्घ रहने प्रण गरेका थिए । 

कान्छो लघुवित्त संस्थाका बित्त तथा प्रशासन विभाग प्रमुख अनितजंग पाण्डेले १० करोड चुक्तापूँजी भएको संस्थामा ७ करोड रुपैयाँ प्रोमोटरहरुको लगानी रहेको जानकारी दिए । उनका अनुसार ढिलोमा तीन वर्षभित्र यो माइक्रो फाइनान्सले सर्वसाधारणका लागि ३ करोड रुपैयाँको आइपीओ जारी गर्नेछ । 

तनहुँ जिल्लामा केन्द्रीय कार्यालय रहेको गणतपति माइक्रो फाइनान्स नै पहिलो बित्तीय संस्था भएको दाबी गर्दै पाण्डेले चालु आर्थिक वर्षभित्र १५ वटा शाखा बिस्तारको योजना रहेको पनि जानकारी दिए ।