काठमाण्डौ । एमाले र माओवादी एकता पार्टी घोषणासभामा एकीकृत पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले निकै ठूलो मन्थन र संघर्षपछि दुई पार्टीलाई एक बनाइएको बताएका छन् । 

उनले पार्टी एकतापछि बनेको पार्टीलाई जनतामा लोकप्रिय बनाउने, पार्टीको नेतृत्वमा रहेको सरकारले जनताको सुखदुःखमा सहभागी हुँदै अगाडि बढ्नुपर्नेमा जोड दिए । 

उनले बिहीबार नै बालुवाटारमा दुवै पार्टीका केन्द्रीय कमिटी भंग गरी नयाँ पार्टीको ४४१ सदस्यीय केन्द्रीय कमिटी, ४५ सदस्यीय स्थायी कमिटी र ९ सदस्यीय सचिवालय गठन गरी निर्वाचन आयोगमा पुगेर दल दर्ता गरी घोषणासभा थालिएको बताए । 

उनले संयुक्त घोषणापत्र समेत पढेर सुनाएका थिए । उनले घोषणापत्रमार्फत एमाले र माओवादी विघटन गरी नेपाल कम्युनिष्ट पार्टी पुनर्गठन गरिएको बताए । उनले पार्टी एकता घोषणासभालाई सुखद क्षण पनि भनेका छन् । 

गत असोज १७ गते ६ बुँदे सहमति भएको स्मरण गर्दै सोही अनुसार साझा घोषणापत्र र उम्मेद्वारसहित अगाडि बढेको र जनताले आफूहरुलाई बहमुत दिएको भन्दै उनले खुशी व्यक्त गरे । 

वरिष्ठ नेताले दुई पार्टी मिलेपछि संघीय संसदमा झण्डै २ तिहाईको बहुमत प्राप्त गरेको र ७ मध्ये ६ प्रदेशमा आफूहरुको बहुमतमा सरकार बनेको भन्दै खुशी व्यक्त गरे । 

यो घोषणाले राजनीतिक स्थायीत्व, दिगो शान्ति र समृद्धि कायम गर्ने जनताको चाहना पूरा हुने दाबी समेत गरे । 

उनले नेकपा एमालेले अवलम्बन गरिआएको जनताको बहुदलीय जनवाद र माओवादीले अवलम्बन गरिआएको एक्काइसौ शताब्दीको नौलो जनवादलाई मर्ज गरी ‘समाजवादउन्मुख जनताको जनवाद(सजज)’को रुपमा अगाडि बढाउने सहमति समेत भएको सुनाए ।  

उनले समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्त गर्न पार्टी एकीकरणले ठूलो सहयोग गर्ने समेत दाबी गरे ।

लामो समयदेखि विभाजनको तीतो यथार्थ भोग्दै आएको नेपालको कम्युनिष्ट पार्टी एकतामा बाँधिएको उल्लेख गर्दै देशका अन्य कम्युनिष्टहरुलाई समेत एकता प्रक्रियामा सहभागी हुन आह्वान गरे । 

देश आर्थिक क्रान्ति र समृद्धिको चरणमा प्रवेश गरेको उल्लेख गर्दै समाजवाद निर्माणमा लाग्न कार्यकर्तालाई आग्रह गरे । 

नेता नेपालले ६ बुँदे एकता घोषणापत्र प्रस्तुत गरेका थिए ।