काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबारदेखि सपरिवार भारतको भ्रमण सुरु गरेका छन् । उनको यो भ्रमणमा हुनसक्ने निकै ठूलो व्यापार सम्झौता र त्यसबाट छिमेकी देशमा पर्नसक्ने प्रभावको बिषयलाई लिएर नेपालले पनि यो भ्रमणलाई चासोपूर्वक हेरिरहेको छ । 

यही क्रममा ट्रम्पको भ्रमणको पहिलो दिन नै उनको प्रस्तुती र भूमिकाको विषयलाई लिएर भारतीय मिडियाहरुले विभिन्न टिप्पणी गरिरहेका छन् । इकोनोमिक टाइम्सले अहमावादको मोटेरा स्टेडियममा ट्रम्प एक सेल्समेनको रुपमा प्रस्तुत भएका भनेर लेखेको छ। 

त्यहाँ जम्मा भएको भीडमै छिरेर ट्रम्पले भारतसँग हुनसक्ने व्यापारको संभावनालाई क्यास गर्ने कोशिश गरेका मिडियाहरुले जनाएका छन् ।

कुराकानीको क्रममा भीडमै उनले भारतसँग कुन–कुन वस्तुको व्यापार गर्न सकिन्छ भन्ने बिषय समेत बताएका थिए । उनले सो क्रममा दुई देशबीच निकै ठूलो र महत्वपूर्ण व्यापार सम्झौता समेत हुन लागेको बताएका थिए । 

समाचारमा भनिएको छ–‘मोटेरा स्टूडियोमा ट्रम्पले एक सेल्समेनले झै अमेरिकामा कुन–कुन चिज बनाइन्छ भन्ने विषयमा बेलीबिस्तार लगाएका थिए । उनले ती वस्तुहरु भारतले खरीद गर्दा राम्रो हुने भन्दै मार्केटिङ समेत गरिरहेका थिए ।’ उनले सो क्रममा भने–‘हामी हवाइजहाज, रकेट, पानीजहाज र भयानक हतियार समेत बनाउँछौ। हामी भारतीय सेनालाई यी सबै चिज दिन्छौ ।’ उनले सो क्रममा अमेरिका नै भारतको सबैभन्दा ठूलो डिफेन्स पार्टनर हुनुपर्छ भन्ने आफ्नो तर्क समेत पेश गरेका थिए । 

अमेरिकासँग भारतको ठूला–ठूला व्यापार सम्झौता हुने अपेक्षा गरिएको छ । तर, ट्रम्प भने नरेन्द्र मोदीसँग सहजै व्यापार सम्झौता गर्न गाह्रो पर्नसक्ने कुरा भीडमै बताउन पुग्छन् । उनले सम्झौताको टेबलमा मोदीसँग आमनेसामनेपछि कतिपय मुद्धा सहजै नसुल्झिनसक्ने शंका समेत व्यक्त गरेका छन । 

ट्रम्पले दुवै देशका लागि महत्वपूर्ण सावित हुने व्यापार सम्झौता आफ्नो भ्रमणको क्रममा हुनेमा आशावादी रहेको बताएका छन् । उनले मोदी निकै ‘टफ’ रहेका उल्लेख गर्दै भीडमा भनेका छन्–‘हाम्रो व्यापार ४० प्रतिशतले बढेको छ । भारतका लागि अमेरिका सबैभन्दा ठूलो निर्यात बजार हो । हामीले रोजगार सिर्जना गर्ने शानदार तरिका के हो भन्ने कुरा समेत प्रमाणित गरिसकेका छौ । भारतले समेत हामीबाट यो कला सिक्नसक्छ ।’ 

केही महिनाअघिदेखि नै अमेरिकाको सबैभन्दा ठूलो व्यापार साझेदार भारत बनिसकेको छ । पहिला चीन थियो । भारतको वाणिज्य मन्त्रालयका आँकडाअनुसार २०१९–२० मा अप्रीलदेखि डिसेम्बरको अवधिमा भारतको अमेरिकासँगको द्विपक्षीय व्यापारको आकार ६८ अर्ब डलर रहेको छ । जबकि यही अवधिमा भारतको चीनसँगको द्विपक्षीय व्यापारको आकार ६४.९६ अर्ब डलर मात्रै रहेको छ । 

ट्रम्पले भारतमा मोदीले शानदार काम गरेका भन्दै उनको प्रशंसा समेत गरेका छन् । भारतको विजिनेश गर्ने वातावरणमा अझै सुधार हुने संभावना आफूहरुले देखेको र स्पेश(अन्तरिक्ष)को क्षेत्रमा समेत भारतसँग मिलेर काम गर्न चाहेको बताएका छन् । उनले भारतको बहुचर्चित ‘चन्द्रयान कार्यक्रम’लाई ‘शानदार’को उपमा दिएका छन् र यो क्षेत्रमा भारतले अमेरिकालाई चुनौति दिइरहेको समेत भन्न भ्याएका छन् । 

(एजेन्सीको सहयोगमा तयार रिपोर्ट)