काठमाण्डौ । जर्मन सरकारले नेपाललाई आगामी दुई वर्षका लागि वित्तीय तथा प्राविधिक सहायता गरी करिब ७ अर्ब ५० करोड रुपैयाँ बराबरको अनुदान सहायता गर्ने भएको छ।

यस्तै, उर्जा दक्षता कार्यक्रम अन्तरगत लेखनाथ दमौली २२० केभी प्रसारण लाईन परियोजना निर्माणको लागि थप १५ मिलियन यूरो सहितजम्मा ३१ मिलियन यूरो अनुदान सहायता प्रदान गर्ने सम्झौता समेत भएको छ । 

सेप्टेम्बर १९ र २० मा जर्मनीको बर्लिनमा सम्पन्न नेपाल जर्मनी विकास सहायता सम्बन्धी वार्तामा सो सम्झौता भएको हो । 

सम्झौतामा नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवश्रीकृष्ण नेपाल र जर्मनी सरकारको तर्फबाट केएफ डब्लु विकास बैंकको दक्षिण एसिया क्षेत्रीय व्यवस्थापक यस्मिन तफिकले हस्ताक्षर गरे । 

सो वार्तामा जर्मनी सरकारबाट उर्जा, स्वास्थ्य तथा दीगो आर्थिक विकासका क्षेत्रमा जारी आयोजनाहरुलाई निरन्तरता दिदै थप आयोजनाको लागि समेत प्रतिवद्धता प्राप्त भएको अर्थमन्त्रालयले जनाएको छ । 

जर्मनी सरकारबाट नेपाललाई नवीकरणीय उर्जा, स्वास्थ्य, नगर विकास, शान्ति कोष, भुकम्पपछिको पुनर्निर्माण तथा दीगो आर्थिक विकासका क्षेत्रमा प्राप्त सहयोगको लागि नेपाली पक्षबाट धन्यवाद व्यक्त गरिएको थियो ।

वार्तामा नेपालको तर्फबाट ६ सदस्यीय र जर्मनको तर्फबाट १२ सदस्यीय प्रतिनिधिमण्डलको सहभागिता थियो ।