काठमाण्डौ । एफपीओ नबिकेर कतिपय सूचिकृत कम्पनीहरुले हैरानी व्यवहोरिरहेको बेला आइपीओ समेत बिक्री हुन छाडेको छ । यसको पछिल्लो उदाहरण बनेको छ जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी । 

यो कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निश्कासन गरेको आइपीओमध्ये करिब ३५ प्रतिशत मात्र बिक्री भएको छ । बाँकी ६५ प्रतिशत खरीदमा स्थानीय चासो नदेखाएका पाइएको छ । 

यो कम्पनीले आयोजना प्रभावित इलाम नगरपालिकाको वडानम्बर १, ३ र ४ का बासिन्दाका लागि १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ७१ हजार ४ सय कित्ता आइपीओ निश्कासन गरेको थियो । 

तर, आवेदन दिने अन्तिम समयसम्म १ लाख २९ हजार ३ सय ९० कित्ता मात्र बिक्री भयो । २ लाख ४२ हजार १० कित्ता आइपीओ बिक्री नभएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका एक अधिकारीले जानकारी दिए । 

यसअघि यो कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि ७ लाख ४२ हजार कित्ता निश्कासनको योजना बनाएको थियो । तर, स्थानीयले २ लाख ४२ हजार बढी कित्ता खरीद नगरिदिएपछि त्यसलाई समेत थप गरी सर्वसाधारणका लागि अब कुल ९ लाख ८४ हजार कित्ता आइपीओ निश्कासन हुनेछ । 

यो जलविद्युत कम्पनीले इलामको पुवामझुवा गाउँपालिकामा ३ हजार किलोवाटको माथिल्लो पुवा १ आयोजना संचालन गरिरहेको छ ।